काठमाडौं, असोज २४ – नेकपा एमालेको सचिवालय बैठक आज भक्तपुरको गुण्डुमा सुरु भएको छ, जहाँ पार्टी अध्यक्ष केपी शर्मा ओली हाल बसोबास गरिरहेका छन्। बैठकमा हालको राजनीतिक परिस्थिति र पार्टीका आगामी गतिविधिबारे व्यापक छलफल भइरहेको एमाले स्रोतले जनाएको छ।
स्रोतका अनुसार, बैठकमा असोज २७ देखि २९ गतेसम्म निर्धारित केन्द्रीय समिति बैठकका एजेन्डा तयार गर्ने विषय मुख्य एजेन्डा रहेको छ। यसअघि आइतबारका लागि तय गरिएको बैठक देशभरका बाढी, पहिरो र डुबानका कारण स्थगित गरिएको थियो।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार, आजको बैठकले पार्टीको दीर्घकालीन रणनीति र नयाँ कार्यदिशा तय गर्नेछ।
जेनजी प्रदर्शनपछि देशका राजनीतिक दलहरूभित्र नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस तीव्र बन्दै गएको बेला एमालेमा भने अध्यक्ष ओलीको पक्षमा संस्थापन समूह एकजुट भएर उभिएको छ।
हालै भक्तपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अन्तरिम सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रतिनिधि सभा पुनःस्थापनाका लागि एमालेले अग्रसर हुने बताएका थिए।
जेनजी आन्दोलनको समयमा ओलीको बालकोटस्थित निजी आवासमा आगजनी भएपछि उनी २४ भदौदेखि नेपाली सेनाको सुरक्षा घेरामा गुण्डुस्थित भाडाको घरमा बस्दै आएका छन्।
यसैबीच, एमालेको भातृ संगठन युवा संघ नेपालले भोलि (शनिबार) काठमाडौंमा शक्ति प्रदर्शन स्वरूप मोटरसाइकल र्याली आयोजना गर्ने घोषणा गरेको छ।
