गर्मीका कारण इटहरी र इनरुवाका विद्यालय बन्द


गर्मीका कारण इटहरी र इनरुवाका विद्यालय बन्द
  • नवकिरण
  • जेष्ठ २७, २०८२

विराटनगर, जेठ २७ – सुनसरी जिल्लामा गर्मी अत्यधिक बढेपछि इटहरी उपमहानगरपालिका र इनरुवा नगरपालिकाले क्षेत्रभित्रका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।

इटहरी उपमहानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै भोलिसम्म (बुधबार) का लागि विद्यालयहरूमा पठनपाठन स्थगित गरिएको जानकारी दिएको छ। उता, इनरुवा नगरपालिकाले तीन दिनको विदा दिने निर्णय गरेको छ।

इनरुवा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत युवराज निरौलाले बताए अनुसार बुधबारदेखि शुक्रबारसम्म विद्यालयहरू बन्द रहनेछन्।

“अत्यधिक गर्मीका कारण पढाइ सम्भव छैन, त्यसैले शुक्रबारसम्म बिदा दिएका छौँ,” उनले सेतोपाटीसँग भने।

उनका अनुसार गर्मी अझै बढ्ने हो भने पठनपाठन बन्दको अवधि थप गर्नेसमेत तयारी गरिएको छ।

विद्यालय बन्द हुँदा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूलाई समेत सावधानी अपनाउन आग्रह गरिएको छ।