गृहमन्त्री लेखकको अडान : “राजीनामा दिन्न, संसदमै सबै प्रश्नको जवाफ दिन तयार”


गृहमन्त्री लेखकको अडान : “राजीनामा दिन्न, संसदमै सबै प्रश्नको जवाफ दिन तयार”
  • नवकिरण
  • जेष्ठ २१, २०८२

काठमाडौं, जेठ २१ – गृहमन्त्री रमेश लेखकले आफू राजीनामा नदिने अडान पुनः दोहोर्‍याएका छन् । भिजिट भिसा प्रकरणमा उठेका विवादबीच बुधबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै उनले संसदमै सबै प्रश्नको जवाफ दिन आफू तयार रहेको बताए ।

गृहमन्त्री लेखकले भने, “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको विषयप्रति सांसदहरूको चासो स्वाभाविक हो । तर, समितिको बैठकमा दिएको जवाफले सबैको जिज्ञासा मेटिँदैन । त्यसैले मलाई प्रतिनिधि सभामा बोल्ने मौका दिइयोस्, म उठेका सबै प्रश्नको जवाफ दिन्छु ।”

विपक्षी दलहरूले गृहमन्त्रीमाथि भिजिट भिसा प्रकरणमा संलग्न भएको आरोप लगाउँदै लामो समयदेखि राजीनामाको माग गरिरहेका छन् । सोही मुद्दालाई लिएर संसदसमेत पटक–पटक अवरुद्ध भइरहेको छ ।

समितिको बैठकमा सांसदहरूले प्रश्न गरेपछि मन्त्री लेखकले स्पष्ट रुपमा भने, “म राजीनामा दिन्न, बरु सबै प्रश्नहरूको उत्तर संसदको रोस्ट्रमबाट दिन चाहन्छु । त्यसका लागि वातावरण बनाउन सबैको सहयोग आवश्यक छ ।”

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ, जसमा गृहमन्त्री लेखकले संसदमा प्रत्यक्ष रूपमा जवाफ दिने सम्भावना रहेको छ ।