काठमाडौं, फागुन ३० – डिल्लीबजार कारागारबाट सजाय भुक्तान गरी हालै मुक्त भएका गण्डकी प्रदेशका पूर्व मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’लाई ठमेलमा भव्य स्वागत गरिएको छ। शनिबार ठमेल पुगेका मनाङेलाई त्यहाँका व्यवसायी तथा समर्थकहरूले क्लब नोभामा कार्यक्रम आयोजना गरी स्वागत गरेका हुन्।
ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा दोषी ठहर भई कारागार जीवन बिताएका मनाङे केही दिनअघि मात्रै जेलमुक्त भएका थिए। उनलाई सोही मुद्दामा पाँच वर्ष कैद सजाय सुनाइएको भए पनि राम्रो चालचलनका आधारमा सजाय कटौती भएपछि एक वर्ष चार महिना कैद भुक्तान गरेर रिहा भएका हुन्।
मनाङे अतीतमा काठमाडौंमा ‘गुन्डा नाइके’का रूपमा चिनिन्थे। त्यतिबेला उनको प्रतिद्वन्द्वी समूहका रूपमा मिलन गुरुङ ‘चक्रे मिलन’ सक्रिय थिए। २०६१ वैशाख ३१ गते महाराजगन्जमा भएको खुकुरी प्रहारको घटनामा चक्रे मिलनको हात काटिएको थियो, जसको मुख्य अभियुक्तका रूपमा मनाङे दोषी ठहर भएका थिए।
त्यसैबीच, जेनजी आन्दोलनका क्रममा भदौ २४ गते देशका विभिन्न कारागारबाट कैदीबन्दी भाग्ने घटना हुँदा मनाङे भने जेलमै बसेका थिए। उनले अन्य कैदीबन्दीलाई पनि नभाग्न आग्रह गर्दै रोक्न भूमिका खेलेको बताइन्छ। यही कारणले उनको सजायमा केही कटौती गरिएको थियो।
