विराटनगर, जेठ ३१ – माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार बिहान विराटनगर विमानस्थलमा पत्रकारको प्रश्नमा झर्किएका छन्। भिजिट भिसा प्रकरण र एमालेसँग भएको दुई बुँदे सहमतिको विषयमा सोधिएका प्रश्नहरूमा उनले चिढिएको प्रतिक्रिया दिएका हुन्।
सधैं पत्रकारहरूसँग सौम्य व्यवहार गर्ने प्रचण्डले यसपटक सुरुमै भएको प्रश्नले असन्तुष्टि जनाए। पहिलो प्रश्न थियो — “प्रचण्डको एउटा पहिचान छ रे, ढाँट्दिने भनेर। अब रास्वपालाई छोडेर संसद् खोलिदिनुभयो, हिजोसम्म राजीनामा नभइकन हुँदैन भन्नुभएको थियो, के सेटिङ भयो?” यसमा उनले राजनीतिमा अगाडि बढ्ने र पछि हट्ने कदमहरू चालिनु स्वाभाविक भएको प्रतिक्रिया दिए।
त्यसपछि अर्को प्रश्न आयो — “यो मुद्दा अग्नि सापकोटासँग साट्नुभएको हो?” यसमा उनले स्पष्ट रूपमा भने, “यो बिल्कुलै वाहियात कुरा हो, झूटो प्रचार मात्र हो। अग्निसँग यसको कुनै सम्बन्ध छैन।”
यस्तै गरी, जब पत्रकारले सोधे — “कांग्रेस र एमालेले तपाईंलाई थाङ्नामा सुताएको कि आफैं सुत्नुभएको हो?” प्रचण्डले जवाफ दिए, “तपाईंहरूको बुझाइ सुतेको हो।”
अर्को प्रश्न थियो — “जनार्दन शर्मालाई तपाईंले किन पार्टी छोड भन्नुभयो?” यसमा उनले छोटो जवाफ दिए — “भनेकै छैन, त्यो बेकारको कुरा हो।”
प्रश्नोत्तर जारी भइरहँदा माओवादीका नेताहरूले “अब सकियो” भनेपछि पत्रकार सम्मेलन टुंगिएको थियो। तर, प्रचण्डलाई दुई बुँदे सहमतिको विषयमा पत्रकार मात्र नभई माओवादी नेता तथा कार्यकर्ताले पनि असन्तुष्टि व्यक्त गरेका छन्।
कोशी प्रदेश माओवादी उपाध्यक्ष शिवकुमार डाँगीले सामाजिक सञ्जालमा लेखे — “सहमति सन्तोषजनक छैन, सहमतिका लागि किन बाध्य हुनुपर्यो?” उनको स्टाटसमा थुप्रै कार्यकर्ताले असन्तुष्टि जनाएका छन्।
विराटनगर विमानस्थलमा प्रचण्ड आउनुभन्दा पहिले उपस्थित माओवादी कार्यकर्ताहरूबीच पनि भिजिट भिसा प्रकरणको विषयमा चर्को कानेखुसी देखिएको थियो। सार्वजनिक रूपमा नबोले पनि अधिकांश असन्तुष्ट देखिन्थे। एक नेताले नाम नखुलाउने शर्तमा भने — “यो चित्त नबुझेकै कुरा हो, तर हामी रमिता हेर्ने हो।”
यद्यपि माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले सहमतिमा खासै ठूलो आलोचना गर्नु आवश्यक नरहेको बताए। “डाडुमा भात पक्दैन, भाँडै चाहिन्छ। प्रचण्डलाई देशको चिन्ता नलाग्ने? अरूलाई लाग्ने?” भन्दै आलोचना बेकार भएको तर्क गरे।
गत जेठ १३ गतेदेखि भिजिट भिसाको नाममा भएको भनिएको मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै माओवादीसहित प्रतिपक्षी दलहरूले संघीय संसद् अवरुद्ध गरेका थिए। संसद् चलाउने प्रयासस्वरूप माओवादी र एमालेबीच दुई बुँदे सहमति भएको हो।
सहमतिअनुसार, अख्तियारले छानबिनका लागि माग गरेअनुसार सरकार आवश्यक सहयोग गर्नेछ। साथै अध्यागमन र भिजिट भिसामा देखिएका समस्याको अध्ययन गरी नीतिगत, कानुनी र संरचनात्मक सुधारको प्रतिबद्धता व्यक्त गरिएको छ।
प्रचण्डले उक्त सहमति देश र जनताको हितमा भएको बताए पनि आम जनता तथा माओवादी समर्थकले भने यसलाई “उधारो सहमति”, “लज्जास्पद सहमति” भन्दै सामाजिक सञ्जालमा आलोचना गरिरहेका छन्। संसद् अहिले चलिरहेको छ भने रास्वपा र राप्रपाले गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग कायमै राखेका छन्।