काठमाडौं, असार ३ – तीनकुने घटनामा संलग्न अभियोग लागेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र आज काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। अदालतमा उपस्थित भएसँगै आजै उनको थुनछेक बहस हुने भएको छ।
यसअघि सोही घटनामा संलग्न मानिएका राप्रपाका महामन्त्री शवलशम्शेर राणा सोमबार अदालतमा उपस्थित भएका थिए। राणा ३ लाख रुपैयाँ धरौटीमा रिहा भइसकेका छन्।
मिश्रविरुद्ध यही जेठ ११ गते राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरसम्बन्धी मुद्दा दर्ता गरिएको थियो। अभियोजन पक्षले मिश्रलाई ती कसुरहरूमध्ये सजाय हुनुपर्ने मागसहित मुद्दा अगाडि बढाएको छ।
गत चैत १५ गते राजावादीले काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेको थियो। उक्त घटनामा दुई जनाको मृत्यु भएको थियो भने मिश्रले सार्वजनिक रूपमै उत्तेजक अभिव्यक्ति दिएको आरोप लागेको छ।
उक्त घटनाको योजनाकारको रूपमा चिनिएका दुर्गा प्रसाईंलाई अदालतले यसअघि नै थुनामा पठाउने आदेश दिइसकेको छ। अब मिश्र थुनामा रहने वा धरौटीमा रिहा हुने भन्नेबारे आजको थुनछेक बहसपछि अदालतले निर्णय गर्नेछ।