रौतहट, असार ५ – रौतहटको फतुवा विजयपुर नगरपालिका–११ राङ्गी गाउँमा सञ्चालित खानेपानी आयोजनाको विद्युत् ट्रान्सफर्मर चोरी भएको छ। अज्ञात समूहले आयोजनाको ५० केभी क्षमताको ट्रान्सफर्मर चोरी गरेपछि गाउँमा खानेपानीको आपूर्ति ठप्प भएको हो।
स्थानीयका अनुसार चोर समूहले ट्रान्सफर्मरलाई तल झारेर भित्रको महँगो तामाका तारहरू निकालेर लगेका हुन्। ट्रान्सफर्मर चोरीका कारण गाउँका सयौँ परिवार गर्मीको मौसममा पानीविहीन भएका छन्। स्थानीय हरि कोइरालाले पानीको चरम अभावका कारण स्वास्थ्य र दैनिक जीवन प्रभावित भएको गुनासो गरे।
घटनाबारे इलाका प्रहरी कार्यालय विजयपुरलाई जानकारी गराइएको थियो। प्रहरी निरीक्षक सुरेन्द्र यादवका अनुसार बुधबार बिहान ११ बजे सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ।
केही वर्षअघि पनि सोही आयोजनाको ट्रान्सफर्मर चोरी भएको थियो। त्यतिबेला प्रहरीको सक्रिय अनुसन्धानपछि पाँच जना पक्राउ परेका थिए र उनीहरू अझै जेलमै छन्। त्यसपछि ट्रान्सफर्मर चोरीको घटना रोकिएको भए पनि पछिल्लो घटनाले पुनः सुरक्षा चुनौती देखिएको छ।
प्रहरीले चोरीको घटनामा संलग्नको पहिचान गरी कडा कारबाही गर्ने प्रतिबद्धता जनाएको छ। यसैबीच स्थानीयले आयोजनाको सुरक्षामा लापरवाही भएको भन्दै असन्तुष्टि जनाएका छन्।