काठमाडौं, असार ५ – पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरका दुई न्यायाधीश न्याय परिषदमा तानिएका छन्। न्यायाधीश खुशीप्रसाद थारु र अर्जुन महर्जनविरुद्ध परेका उजुरीका आधारमा परिषद्ले छानबिन समिति गठन गर्दै उनीहरूलाई तान्ने निर्णय गरेको हो।
उनीहरूले गत जेठ १४ गते वीरगन्जस्थित अस्थायी इजलासबाट आलमलाई सफाइ दिएका थिए। आलममाथि २०६४ सालमा रौतहटको राजपुरमा बम विस्फोटपछि घाइतेलाई जिउँदै इँट्टाभट्टामा हालेर हत्या गरेको आरोप लागेको थियो। यस अभियोगमा जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै कारागार पठाएको थियो।
न्यायाधीशद्वय थारु र महर्जनविरुद्ध दुईवटा उजुरी परेका थिए। विस्फोटमा मारिएका त्रिलोकप्रताप सिंह (पिन्टु) का पिता श्रीनारायण सिंह राजपूतले न्यायाधीशद्वयविरुद्ध गत मङ्गलवार कारबाहीको माग गर्दै उजुरी दिएका थिए। त्यसअघि जेठ १६ गते युवराज पौडेल ‘सफल’ ले पनि उनीहरूविरुद्ध उजुरी दिएका थिए।
न्याय परिषद स्रोतका अनुसार उजुरीको गम्भीरताका आधारमा छानबिन समिति गठन गरेर थप प्रक्रिया अघि बढाइएको छ।