सफाइ दिने न्यायाधीशहरूविरुद्ध पुनः उजुरी, बदनियतपूर्ण फैसला भएको आरोप


सफाइ दिने न्यायाधीशहरूविरुद्ध पुनः उजुरी, बदनियतपूर्ण फैसला भएको आरोप
  • नवकिरण
  • अषाढ ९, २०८२

काठमाडौं, असार ९ – नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरका न्यायाधीशहरू डा. खुसीप्रसाद थारू र अर्जुन महर्जनविरुद्ध पुनः न्यायपरिषद्मा उजुरी परेको छ।

जाहेरीकर्तामध्येका एक शैलेन्द्र साहले मुद्दामा बदनियतपूर्वक फैसला भएको दाबी गर्दै सोमबार न्यायपरिषद् सचिवालयमा नयाँ उजुरी दर्ता गराएका हुन्। उनले आलमलाई उन्मुक्ति दिने उद्देश्यले घटना नै नभएको ठहर गर्दै फैसला गरिएको आरोप लगाएका छन्।

साहले मुद्दाको सुनुवाइ प्रक्रिया तथा कार्यशैलीप्रति पनि प्रश्न उठाएका छन्। उनका अनुसार डा. थारूको इजलासमा मुद्दा नपरेसम्म सुनुवाइ नै अघि नबढेको, दोस्रो नम्बरको मुद्दाले प्राथमिकता पाएको, करिब ४ घण्टामा सुनुवाइ सकाएर फैसला सुनाइएको लगायतका गतिविधिले निष्पक्षतामाथि प्रश्न उठाएको छ।

उनले कांग्रेस सभापति शेरबहादुर देउवाले रौतहटको गौरमा आयोजित कार्यक्रममा दिएको ‘आलमलाई जसरी पनि निकाल्छु’ भन्ने अभिव्यक्तिसमेत उल्लेख गर्दै त्यसै अनुसार मुद्दा प्रभावित भएको दाबी गरेका छन्।

साहले न्यायाधीशहरू डा. थारू, अर्जुन महर्जन तथा कानुनमन्त्री अजयकुमार चौरसियाबीचको कल डिटेल रेकर्ड समेत माग गर्दै अनुसन्धानको माग गरेका छन्।

शैलेन्द्र साह घटनाका प्रत्यक्षदर्शीमध्ये एक हुन्। उनी जिल्ला अदालतमा मुद्दा चल्दा सरकारी पक्षबाट साक्षीका रूपमा बकपत्र दिएका थिए। २०६४ सालको संविधानसभा निर्वाचनमा उनी एमालेका तर्फबाट उम्मेदवार थिए भने आलम उनका प्रतिस्पर्धी थिए।

यसअघि पनि आलमलाई सफाइ दिने फैसलाको विरोधमा कानुन व्यवसायीहरूले आलोचना गरेका थिए र फैसलाको पारदर्शिता र निष्पक्षतामाथि प्रश्न उठाउँदै आएका छन्।