पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको मुद्दा दर्ता


पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको मुद्दा दर्ता
  • नवकिरण
  • अषाढ १६, २०८२

काठमाडौं, असार १६ – पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराध सम्बन्धी मुद्दा दर्ता गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।

सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले आजै मुद्दा दर्ता गरिएको जानकारी दिए। “आज मुद्दा दर्ता भएको हो,” उनले भने।

नेपाल प्रहरीको साइबर ब्युरोले असार १३ गते जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। पाठकलाई भने पक्राउ नगरीकन मुद्दा दर्ता गरिएको हो।

यसअघि, गत जेठ २८ गते पाठकविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पक्राउ पुर्जी जारी गरिएको थियो। उनले युट्युब च्यानल ‘टफ टक विथ दिलभूषण पाठक’मार्फत हिलटन होटल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवासम्बन्धी भिडिओ सामग्री प्रसारण गरेका थिए।

उक्त भिडिओलाई लिएर उजुरी परेको र त्यसपछि साइबर ब्युरोले अनुसन्धान थालेर पुर्जी लिएको हो।

यद्यपि, असार ५ गते उच्च अदालत पाटनले पत्रकार पाठकलाई पक्राउ नगर्न आदेश दिएको थियो। अदालतले सञ्चारमाध्यममार्फत सम्प्रेषित सामग्रीमा असहमति भएमा प्रेस काउन्सिलमार्फत उजुरी दिन सकिने व्यवस्था रहेको भन्दै विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धान आवश्यक नरहेको ठहर गरेको थियो।

त्यसअघि असार २ गते पनि अदालतले पाठकलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो। उजुरीकर्ताको वास्तविक नाम खुलाइएको छैन भने अभियोग पत्रमा परिवर्तित नाम प्रयोग गरिएको छ।