जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न राष्ट्रपति पौडेलको आग्रह


जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न राष्ट्रपति पौडेलको आग्रह
  • नवकिरण
  • माघ १९, २०८२

काठमाडौं, माघ १९ – राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र व्यापार विस्तार गर्न आग्रह गरेका छन् । नेपाल सरकार वैदेशिक लगानीकर्तालाई पूर्ण सहयोग, सहजीकरण र सुरक्षा दिन प्रतिबद्ध रहेको उनले बताएका छन् ।

नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठका अवसरमा जापानको टोकियोमा आयोजित अन्तरक्रियामा बोल्दै राष्ट्रपति पौडेलले नेपालले स्थिर आर्थिक वातावरण, आकर्षक प्रतिफल र पूँजी फिर्तीका सहज प्रक्रिया सुनिश्चित गरेको बताए ।

उनले नेपाल र जापानबीचको सम्बन्ध कूटनीतिक मात्र नभई सांस्कृतिक र जनस्तरमा समेत गहिरो रहेको उल्लेख गर्दै गौतम बुद्धको शान्तिको दर्शनले दुई देशलाई जोडेको बताए ।

राष्ट्रपति पौडेलले कृषि, जलस्रोत र पर्यटनजस्ता क्षेत्रमा लगानी गर्न जापानी व्यवसायीलाई आह्वान गर्दै नेपालमा लगानी गर्दा आर्थिक लाभसँगै सामाजिक योगदान पनि हुने धारणा व्यक्त गरे ।

नेपालले उत्पादन, जलविद्युत्, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्र विदेशी लगानीका लागि खुला गरेको उल्लेख गर्दै उनले भारत र चीनको बीचमा रहेको भौगोलिक अवस्थाले लगानीकर्तालाई थप फाइदा पुग्ने विश्वास व्यक्त गरे ।