३ उद्योग तथा फर्मलाई ४ लाख ९५ हजार जरिवाना


३ उद्योग तथा फर्मलाई ४ लाख ९५ हजार जरिवाना
  • नवकिरण
  • अषाढ १९, २०८२

काठमाडौं, असार १९ – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाउँदै तीन वटा उद्योग तथा फर्मलाई ४ लाख ९५ हजार रुपैयाँ जरिवाना तिराएको छ।

विभागले नियमित अनुगमनको क्रममा गत बिहीबार ललितपुर, काठमाडौं र भक्तपुरका १६ वटा उद्योग तथा फर्ममा अनुगमन गरेको थियो। अनुगमनका क्रममा नियमविपरीत मूल्यसूची, दर्ता प्रमाणपत्र, अधिकतम खुद्रा मूल्य (एमआरपी), रिलेबलिङ र गुणस्तरसम्बन्धी हेरफेर गरेको पाइएपछि तीन कम्पनीलाई जरिवाना गरिएको हो।

ललितपुर महानगरपालिका स्थित एसएस ओभरसिजलाई २ लाख ५ हजार, काठमाडौं महानगरपालिका–११ मा रहेको म्याजेस्टिक कलर्स सिभिललाई २ लाख र मध्यपुर थिमी नगरपालिका–२ मा रहेको क्षमादेवी बिल्डिङ मेटरियल्स प्रालिलाई ९० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।

विभागका अनुसार ती कम्पनीहरूले उत्पादनमा आवश्यक कागजात, मूल्यसूची, एमआरपी, गुणस्तर र नापतौलमा हेरफेर गरेको पाइयो। यसले उपभोक्ताको अधिकारमा प्रत्यक्ष असर पार्ने हुँदा जरिवाना गरिएको हो।

त्यस्तै, बिहीबार अनुगमन गरिएका अन्य ४ उद्योग तथा फर्मलाई तीन दिनभित्र व्यवसायसम्बन्धी कागजात लिएर विभागमा उपस्थित हुन भनिएको छ भने ४ फर्मलाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ।

विभागले पछिल्लो समय बजार पारदर्शी बनाउन र उपभोक्तालाई ठगिनबाट जोगाउन एमआरपीसहितको लेबल प्रणालीलाई कडाईका साथ कार्यान्वयन गरिरहेको जनाएको छ। अनुगमनमा एमआरपी नलगाउने, रिलेबलिङ गर्ने, गुणस्तर र नापतौलमा हेरफेर गर्ने फर्महरूलाई विभागले २ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिवाना गरिरहेको छ।