काठमाडौं, असार ३० – प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसँग आज साँझ बालुवाटारमा संयुक्त बैठक गर्ने भएका छन्।
प्रधानमन्त्रीको प्रेस सल्लाहकार रामशरण बजगाईंका अनुसार मन्त्रिपरिषद्को बैठकपछि साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफल तय भएको हो। समसामयिक राजनीतिक परिस्थिति, सरकारको कार्यसम्पादन, विवादास्पद अडियो काण्डलगायत विषय बैठकको प्रमुख एजेन्डा हुनेछन्।
सरकारी मन्त्रीहरू मुछिएको घुससम्बन्धी अडियो प्रकरण बैठकको मुख्य चासो बन्नेछ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको संलग्नताबारे नेताहरूबीच गम्भीर छलफल हुने स्रोतले जनाएको छ।
यसैगरी, सरकार गठन भएको एक वर्षको समिक्षा र आगामी योजनाका सम्बन्धमा पनि बैठकमा समीक्षा हुनेछ। नागरिक उन्मुक्ति पार्टीले हालै सरकारलाई दिएको समर्थन फिर्ता लिएर संसद सचिवालयमा पत्र दर्ता गराएको तथा जसपाले समर्थन फिर्ताको चेतावनी दिँदै आएको पृष्ठभूमिमा बैठक थप अर्थपूर्ण बनेको छ।
स्रोतका अनुसार, प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा मिलेर सरकार संकटमा नपरोस् भन्ने उद्देश्यले दुवै दललाई सन्तुष्ट पार्ने रणनीति तयार गर्न छलफलमा जुटेका छन्। सत्ता समीकरण जोगाउनको लागि चलिरहेको यो कसरतलाई सरकारको भविष्य निर्धारण गर्ने प्रयासको रूपमा हेरिएको छ।