भाइ–बुहारीको झगडा मिलाउन गएका दाजुको खुकुरी प्रहारबाट ज्यान गयो


भाइ–बुहारीको झगडा मिलाउन गएका दाजुको खुकुरी प्रहारबाट ज्यान गयो
  • नवकिरण
  • श्रावण ९, २०८२

जनकपुरधाम, साउन ९ – सिरहाको गोलबजार नगरपालिका–३ मा पारिवारिक विवाद मिलाउने प्रयासमा गएका एक युवकको खुकुरी प्रहारबाट मृत्यु भएको छ।

३५ वर्षीय मोतीराम सदाको आफ्नै भाइ श्याम सदाको खुकुरी प्रहारबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रहरीका अनुसार बिहीबार राति करिब ९ बजे श्याम सदा र उनकी श्रीमती कौशल्या सदाबीच घरायसी विवाद भइरहेको थियो। त्यसैबेला झगडा रोक्न गएका दाजु मोतीराममाथि श्यामले एक्कासी खुकुरी प्रहार गरेका थिए।

गम्भीर घाइते भएका मोतीरामलाई तत्कालै लहानस्थित प्रादेशिक अस्पताल लगिएको भए पनि उपचारका क्रममा राति सवा ११ बजे उनको मृत्यु भएको प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए।

घटनापछि फरार रहेका आरोपी श्याम सदालाई प्रहरी टोलीले औरही गाउँपालिकाको सीमाबाट शुक्रबार बिहान पक्राउ गरेको छ।

हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। गाउँलेहरूले यस घटनाले परिवारमै हिंसात्मक अवस्था सिर्जना भएको भन्दै दुख व्यक्त गरेका छन्।