जनकपुरमा एक महिला रहस्यमय अवस्थामा मृत फेला – माइती पक्षले हत्या भएको दाबी


जनकपुरमा एक महिला रहस्यमय अवस्थामा मृत फेला – माइती पक्षले हत्या भएको दाबी
  • नवकिरण
  • श्रावण १२, २०८२

जनकपुरधाम, साउन १२ – जनकपुरधाम उपमहानगरपालिका–४ मा २३ वर्षीया शोभा मण्डल आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन्। राति करिब साढे १२ बजे उनी झुण्डिएको अवस्थामा भेटिएको भन्ने खबर जिल्ला प्रहरी कार्यालय धनुषामा पुगेको थियो।

प्रहरी निरीक्षक अनिल बैठाका अनुसार प्रहरी टोली घटनास्थल पुग्दा शव ओछ्यानमा राखिएको अवस्थामा फेला परेको थियो। घरपरिवारले झुण्डिएको देखेपछि पासो काटेर शव ओछ्यानमा राखिएको बयान प्रहरीलाई दिएका छन्। यद्यपि घटनाको वास्तविकता पोष्टमार्टम रिपोर्टपछि मात्र स्पष्ट हुने प्रहरीले जनाएको छ।

उता मृतक शोभाका माइती पक्षले भने यो आत्महत्या नभइ योजना अनुसारको हत्या भएको दाबी गरेका छन्। उनका अनुसार विवाहपश्चात दाइजोको विषयलाई लिएर बारम्बार घरायसी विवाद हुँदै आएको थियो।

शोभाको पाँच वर्षअघि चन्दन मण्डलसँग विवाह भएको थियो। दम्पतीकी एक छोरी समेत रहेकी छिन्। शोभाको माइती महोत्तरीको बर्दिबास नगरपालिका–१४ स्थित माइस्थानमा पर्छ।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।