काठमाडौँमा फोहोर जारको बिगबिगी, महानगरको कडा कारबाही


काठमाडौँमा फोहोर जारको बिगबिगी, महानगरको कडा कारबाही
  • नवकिरण
  • श्रावण २५, २०८२

काठमाडौँ, साउन २५ – काठमाडौँ महानगरपालिकाले बर्खायाममा पानीजन्य रोगको जोखिम बढेसँगै पिउने प्रशोधित पानीको गुणस्तर अनुगमनलाई तीव्रता दिँदै पछिल्लो एक हप्तामा २७१ वटा मापदण्ड विपरीतका जार बरामद गरी नष्ट गरेको छ।

महानगरको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेका अनुसार असार र साउन महिनामा मात्र १३९ वटा सवारी साधनको जाँच गर्दा ४५६ वटा फोहोर, कुचिएका र मापदण्ड नपुगेका जार फेला पारी नष्ट गरिएको हो।

अनुगमन टोलीले बल्खु, चाबहिल–चुच्चेपाटी, माछापोखरी–बालाजु र कोटेश्वर क्षेत्रमा चेकपोस्ट राखेर पानी ढुवानी गर्ने सवारी साधनहरूको निरीक्षण गरेको थियो। यस क्रममा धेरै स्थानमा जारमा उत्पादन मिति र कम्पनीको स्पष्ट लेबल नरहेको, बिल–बिजक विना बिक्री भइरहेको र जारको भौतिक अवस्था मापदण्ड अनुरूप नभएको पाइएपछि तत्काल जफत गरी नष्ट गरिएको हो। केही नमुना जारलाई पानीको भौतिक र जैविक गुणस्तर परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ।

महानगरले पानी उत्पादक कम्पनीहरूलाई मापदण्ड विपरीतका जारमा पानी बिक्री नगर्न, लेबल र उत्पादन मिति अनिवार्य राख्न, गुणस्तरमा विशेष ध्यान दिन र नियम पालना नगरे कानूनी कारबाही भोग्नुपर्ने चेतावनी दिएको छ। फुड टेक्नोलोजिस्ट अशोक पराजुलीका अनुसार प्रयोगशालामा परीक्षणबाट मात्र पानीको सुरक्षितता सुनिश्चित गर्न सकिने भएकाले यो प्रक्रिया आवश्यक छ।

विगतमा बल्खु, कालीमाटी र टङ्केश्वर क्षेत्रमा हैजाका बिरामी फेला परेको उदाहरण दिँदै उनले यस्तो जोखिम न्यूनिकरणका लागि आगामी दिनमा समुदायस्तरमा पानी परीक्षण र जनचेतना कार्यक्रम सञ्चालन गरिने जानकारी दिएका छन्।