गौर हत्याकाण्डको पुनः अनुसन्धान, प्रहरी तीन पुस्ते विवरण संकलनमा


गौर हत्याकाण्डको पुनः अनुसन्धान, प्रहरी तीन पुस्ते विवरण संकलनमा
  • नवकिरण
  • भाद्र १६, २०८२

जनकपुरधाम, भदौ १६ – रौतहटको गौरमा १९ वर्षअघि भएको चर्चित हत्याकाण्डबारे प्रहरीले पुनः अनुसन्धान सुरु गरेको छ। २०६३ साल चैत ७ गते गौरमा भएको हिंसात्मक झडपमा २७ जनाको ज्यान गएको थियो।

मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चर्तुवेदीका अनुसार घटनामा संलग्न भन्दै उजुरी परेका १३० जनाको खोजी कार्य सुरु भएको छ। “हामीले प्रारम्भिक रूपमा ती सबैको तीन पुस्ते विवरण संकलन गर्दैछौं,” उनले बताए। उनका अनुसार अनुसन्धान क्रममा संलग्नमध्ये ११ जनाको मृत्यु भएको प्रारम्भिक सूचना आए पनि प्रमाणका लागि मृत्युदर्ता कागजात खोजी भइरहेको छ।

सर्वोच्च अदालतको परमादेशपछि प्रहरी सक्रिय भएको हो। गौर घटनाका पीडित परिवारका तर्फबाट दायर रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले भदौ २ गते अनुसन्धान अघि बढाउन आदेश दिएको थियो। पीडितहरूले लामो समयदेखि प्रहरी निष्क्रिय रहेको भन्दै अदालतमा न्यायिक उपचार माग गरेका थिए।

२०६३ सालको घटनामा तत्कालीन मधेसी जनअधिकार फोरम (उपेन्द्र यादव नेतृत्व) र तत्कालीन नेकपा माओवादी (पुष्पकमल दाहाल नेतृत्व) बीच गौरस्थित राइस मिलमा आमसभा गर्न खोज्दा झडप भएको थियो। सो घटनामा ५ महिलासहित २७ जनाको निर्मम हत्या भएको थियो भने सयभन्दा बढी घाइते भएका थिए।

यता, जसपा नेपालले आफ्ना अध्यक्ष उपेन्द्र यादवमाथि राजनीतिक प्रतिशोधका कारण मुद्दा अघि सारिएको दाबी गर्दै सर्वोच्चको आदेशविरुद्ध आन्दोलन गर्दै आएको छ।