मन्त्रीलाई धम्की प्रकरण : किरण साह तीन कसुरमा प्रहरी हिरासतमा


मन्त्रीलाई धम्की प्रकरण : किरण साह तीन कसुरमा प्रहरी हिरासतमा
  • नवकिरण
  • भाद्र १७, २०८२

काठमाडौं, भदौ १७ – खानेपानी मन्त्री प्रदीप यादवलाई फोनमार्फत धम्की दिएको आरोपमा बारा घर भएकी किरण साहलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

प्रहरीका अनुसार साहमाथि ज्यान मार्ने धम्की, साइबर अपराध र अफवाह फैलाएको तीन वटा अभियोगमा मुद्दा दर्ता भएको छ। गत शनिबार पक्राउ परेकी साहलाई अदालतले प्रारम्भिक रुपमा तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो।

मन्त्री यादवलाई साहले वीरगञ्जमा फैलिएको हैजाको विषयमा फोन गरेर गालीगलौज गर्दै धम्की दिएको अडियो सार्वजनिक भएपछि विवाद चुलिएको हो। सार्वजनिक अडियोमा उनले आफ्ना बुबा हैजाबाट आईसीयूमा उपचाररत रहेको दाबी गरेकी सुन्न सकिन्छ। तर, प्रहरीको भनाइमा उनका बुबा हैजाबाट ग्रस्त नभई पुरानो रोगका कारण उपचाररत थिए र अहिले डिस्चार्ज भइसकेका छन्।

डीएसपी किशोर लम्सालका अनुसार अडियो सम्पादन (इडिट) गरिएको छ। “पूरा अडियोमा मन्त्रीलाई ज्यान मार्ने धम्की दिएको स्पष्ट छ तर सार्वजनिक भएको अडियोमा सो भाग काटिएको छ,” लम्सालले बताए।

यता मन्त्री यादवका स्वकीय सचिव हरिन्द्र साहले धम्कीपछि प्रहरीमा उजुरी दिएका थिए। मन्त्री यादव निकट स्रोतले यो घटनामा साहलाई कसैले नियोजित रूपमा परिचालन गरेको हुनसक्ने दाबीसमेत गरेका छन्।

वीरगञ्ज महानगरपालिका र बाराको केही क्षेत्रमा हालसालै हैजाको संक्रमण देखिएको छ। प्रभावित बस्तीमा नमुना परीक्षण गर्दा हैजाका जीवाणु भेटिए पनि स्रोत पत्ता नलागेको स्वास्थ्य निकायले जनाएको छ। यही सन्दर्भमा साहले मन्त्रीलाई फोन गरी आक्रोश प्रकट गरेको खुलेको हो।