‘कोल्ड्रिफ’ कफ सिरपले भारतमा २० बालबालिकाको ज्यान लियो, कम्पनीका मालिक पक्राउ


‘कोल्ड्रिफ’ कफ सिरपले भारतमा २० बालबालिकाको ज्यान लियो, कम्पनीका मालिक पक्राउ
  • नवकिरण
  • आश्विन २३, २०८२

काठमाडौं, असोज २३ – भारतमा विषाक्त खोकीको सिरप सेवनका कारण २० बालबालिकाको मृत्यु भएपछि उत्पादन गर्ने कम्पनीका मालिक पक्राउ परेका छन्।

भारतको मध्य प्रदेशमा ‘कोल्ड्रिफ’ नामक सिरप सेवनपछि दर्जनौं बालबालिकामा गम्भीर स्वास्थ्य समस्या देखिएपछि प्रहरीले तमिलनाडुस्थित स्रसेन फार्मा कम्पनीका मालिक एस. रंगनाथनलाई पक्राउ गरेको हो। उनलाई चेन्नईबाट नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

मध्य प्रदेश प्रहरीले सिरपको नमुना परीक्षण गर्दा त्यसमा हानिकारक मिसावट भेटिएको पुष्टि गरेको छ। प्रारम्भिक अनुसन्धानका अनुसार, कम्पनीले औषधि उत्पादनमा आवश्यक गुणस्तर मापदण्ड बेवास्ता गरेको र त्यसकै परिणामस्वरूप विषाक्त सिरप बजारमा पुगेको पाइएको छ।

प्रहरीले चेन्नईस्थित कम्पनी कार्यालयमा छापा मार्दै कयौं कागजात र नमुना प्रमाणहरू जफत गरेको छ। यससँगै सिरपको वितरण सञ्जाल र विभिन्न फार्मेसीहरूमा बिक्री हुने प्रक्रियामाथि पनि अनुसन्धान भइरहेको छ।

स्वास्थ्य अधिकारीहरूले अभिभावकहरूलाई तुरुन्तै ‘कोल्ड्रिफ’ सिरप प्रयोग नगर्न र यसअघि सेवन गराइसकेका बालबालिकाको स्वास्थ्य जाँच गराउन आग्रह गरेका छन्।

यो घटनाले भारतको औषधि नियमन प्रणालीमाथि पुनः गम्भीर प्रश्न उठाएको छ। अधिकारीहरूले थप संलग्नहरूलाई समेत पक्राउ गर्ने तयारी गरिरहेको बताएका छन्।