काठमाडौँ, माघ ५ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ क्षेत्र नम्बर १ बाट आशिका तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेसँगै पार्टीभित्र असन्तुष्टि देखिएको छ। सोमबार गरिएको उक्त निर्णयपछि पार्टी कार्यालयमा तनावको अवस्था सिर्जना भएको हो।
उक्त निर्वाचन क्षेत्रमा श्रवण त्रिपाठी, रामकुमार ढुङ्गाना, ध्रुव रेग्मी र रामकुमार थपलियालगायत नेताहरू उम्मेदवारको आकांक्षी थिए। आकांक्षीहरूबीच प्रतिस्पर्धा चलिरहेको अवस्थामा अचानक तामाङलाई टिकट दिइएपछि असन्तुष्टि चुलिएको स्रोतले जनाएको छ।
टिकट वितरणप्रति असन्तुष्ट केही कार्यकर्ताले तामाङको उम्मेदवारी नस्वीकार्ने चेतावनी दिएका छन्। उनीहरूले पार्टी निर्णयप्रति विरोध जनाउँदै सङ्गठनबाट राजीनामा दिने धम्कीसमेत दिएका छन्। यस विषयलाई लिएर पार्टी कार्यालयमा भनाभन र तनावको अवस्था उत्पन्न भएको बताइएको छ।
पार्टी नेतृत्वले भने आन्तरिक छलफलमार्फत समस्या समाधान गर्ने प्रयास भइरहेको जनाएको छ।
