जेन–जी आन्दोलनमा घुसपैठ ? ‘टीओबी’ टिसर्टधारी युवक पेस्तोलसहित देखा परे


जेन–जी आन्दोलनमा घुसपैठ ? ‘टीओबी’ टिसर्टधारी युवक पेस्तोलसहित देखा परे
  • नवकिरण
  • आश्विन २६, २०८२

काठमाडौं, असोज २६ – जेन–जी आन्दोलनका क्रममा ‘टीओबी’ (Tibetan Original Blood) लेखिएको टिसर्ट लगाएका एक युवकले पेस्तोल बोकेको तस्बिर सार्वजनिक भएपछि प्रहरी सतर्क बनेको छ।

सामाजिक सञ्जालमा ती युवकको तस्बिर भाइरल बनेपछि काठमाडौं प्रहरी परिसरले उक्त व्यक्तिको खोजी सुरु गरेको पुष्टि गरेको छ। प्रहरीले तस्बिर र सम्बन्धित भिडियो फुटेजहरू संकलन गरी प्रारम्भिक अनुसन्धान अघि बढाएको जनाएको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार, तस्बिरमा देखिएका युवकहरूको पहिचान गर्ने कार्य भइरहेको छ। उनले भने, “फोटोको सत्यता जाँच्दैछौं, पहिचान भएपछि पक्राउ प्रक्रिया सुरु हुनेछ।”

भाइरल तस्बिरमा बिजुलीबजार नजिकैको पुलजस्तो देखिने ठाउँमा ‘टीओबी’ लेखिएको कालो टिसर्ट लगाएका युवकले आफ्नो पाइन्टको पछाडिको भागमा पेस्तोल जस्तै वस्तु राखिरहेको देखिन्छ। छेउमै अर्को युवकले नियालिरहेको दृश्य पनि तस्बिरमा देखिन्छ।

हालै जेन–जी आन्दोलनमा यस्तै ‘टीओबी’ टिसर्ट लगाएका केही शंकास्पद व्यक्तिहरूको उपस्थिति र गतिविधिले घुसपैठको आशंका बढाएको भन्दै सामाजिक सञ्जालमा चर्चा चलेको थियो। प्रहरीका अनुसार उक्त घटना र तस्बिरबीचको सम्बन्धबारे थप प्राविधिक परीक्षण र अनुसन्धान भइरहेको छ।