फरार अभियुक्त खगेन्द्र सुनार अदालतमा उपस्थित, बयान प्रक्रिया सुरु


फरार अभियुक्त खगेन्द्र सुनार अदालतमा उपस्थित, बयान प्रक्रिया सुरु
  • नवकिरण
  • कार्तिक १३, २०८२

काभ्रेपलाञ्चोक, कात्तिक १३ – लामो समयदेखि फरार सूचीमा रहेका खगेन्द्र सुनार आज बिहीबार जिल्ला अदालत काभ्रेपलाञ्चोकमा उपस्थित भएका छन्।

अदालतको अवहेलना र अधिवक्ता मनीषा गौतमविरुद्ध अपशब्द प्रयोग गरेको आरोपमा उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दायर भएको थियो। सुनार बिहीबार बिहान स्वेच्छिक रूपमा अदालतमा उपस्थित भएको जिल्ला अदालत काभ्रेपलाञ्चोककी श्रेस्तेदार इन्दिरा कार्कीले जानकारी दिइन्।

उनका अनुसार सुनारको बयान न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा भइरहेको छ। बयानपछि थुनछेक बहस सुरु हुने बताइएको छ।

अधिवक्ता गौतमले सामाजिक सञ्जालमा फेसबुक स्टाटस र लाइभमार्फत गालीगलौज गरेको भन्दै साइबर ब्यूरोमा उजुरी गरेकी थिइन्। त्यसपछि मुद्दा काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयमा पुगेको थियो। अनुसन्धानका क्रममा सुनार फरार रहेकाले प्रहरीले उनलाई पक्राउबिना नै गत साउन २ गते अदालतमा मुद्दा दायर गरेको थियो।

उक्त मुद्दा ८२ साल साउनमा अदालतमा दर्ता भएको (मुद्दा नं. ८२ सी१–००२) र सरकारवादी फौजदारी मुद्दाको रूपमा चलिरहेको छ। अदालतले त्यसपछि साउन ५ गते सुनारविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

तर लामो समयसम्म पक्राउ नपरेका सुनार बिहीबार अखेर अदालतमा उपस्थित भएका हुन्। अहिले उनीविरुद्धको बयान प्रक्रिया जारी रहेको अदालत स्रोतले जनाएको छ।