सिमरा चोकमा जेनजी समूहमाथि कुटपिट प्रकरण : दुई आरोपित पक्राउ


सिमरा चोकमा जेनजी समूहमाथि कुटपिट प्रकरण : दुई आरोपित पक्राउ
  • नवकिरण
  • मंसिर ४, २०८२

बारा, मंसिर ४ – बाराको सिमरा चोकमा प्रदर्शनरत जेनजी समूहका सदस्यमाथि भएको कुटपिट घटनामा संलग्न रहेको आरोपमा दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराका एसपी सन्तोष तामाङका अनुसार धनबहादुर श्रेष्ठ (४५) र कैमदुन अन्सारी (४६) लाई बिहीबार बिहानै नियन्त्रणमा लिइएको हो।

एसपी तामाङले थप प्रहरी परिचालन गरेर अन्य संलग्नको पनि खोजी जारी रहेको जानकारी दिए। जेनजी समूहले बुधबार भएको झडपपछि स्वयंमाथि कुटपिट र अभद्र व्यवहार गरेको भन्दै ७–८ जनाविरुद्ध उजुरी दिएका छन्।

बुधबार सिमरा विमानस्थल गेट नजिक एमाले कार्यकर्ता र जेनजी समूहबीचको विवाद चर्किएपछि कर्फ्यू लगाउनुपर्ने अवस्था सिर्जना भएको थियो।

एमालेका नेताहरूले परवानीपुरमा आयोजना गरिएको आफ्नो कार्यक्रम रोक्न जेनजी समूहले जानीजानी अवरोध गरेको आरोप लगाएका छन्। तर जेनजी पक्ष भने आफूमाथि एमाले कार्यकर्ताले व्यवस्थित रूपमा आक्रमण गरेको दाबी गर्दै आएका छन्।