काठमाडौँ, मंसिर २२ – काठमाडौँको सिनामंगलमा आइतबार एक प्रहरी परिवारभित्र भएको विवादले चार महिनाको शिशुको ज्यान गएको छ।
डोटीका २९ वर्षीय असई पुष्कर कार्कीले आफ्नै छोरा माहिर कार्कीको हत्या गरेको आरोप लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईका अनुसार छोराको उपचारबारे कुराकानी गर्दै जाँदा झगडा चर्किएको र सोही क्रममा कार्कीले श्रीमती विष्णा साउदमाथि कुटपिट गर्दै शिशुमाथि धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
श्रीमान–श्रीमती दुवैजना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा कार्यरत थिए। घटना घटेपछि कार्की फरार भएका थिए तर प्रहरीको खोजीपछि उनी साँझ करिब ६ बजेतिर नागढुंगा चेकपोस्टमा समातिएका हुन्।
कुटपिटबाट घाइते भएकी विष्णाको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ भने प्रहरीले घटनाको सम्पूर्ण पृष्ठभूमि र कारणबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।
