काठमाडाैँ, मंसिर २३ – प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो नेतृत्वमा रहेको वर्तमान सरकारले चुनावी जिम्मेवारी मात्र होइन, सुशासन स्थापनालाई केन्द्रमा राखेर काम गरिरहेको स्पष्ट पारेकी छन्।
भ्रष्टाचारविरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारतर्फ जरा गाडेर बसेका अवैध गतिविधिमाथि आवश्यक परे कडा कारबाही गर्न सरकार तयार रहेको बताइन्।
उनका अनुसार, सरकार जेनजी आन्दोलनले उठाएका सुशासनका मागलाई आधार बनाएर अघि बढिरहेको छ। “यो सरकार एउटा सजिलो संक्रमणकालीन सरकार मात्रै होइन, परिवर्तनको चाहनाबाट बनेको संरचना हो,” प्रधानमन्त्री कार्कीले भनिन्, “सुशासनका लक्ष्य प्राप्तिका लागि राज्य संयन्त्र सक्रियरूपमा जुटिसकेको छ।”
प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रणका प्रयासले केही समूहहरूमा असहजता सिर्जना भएको स्वीकार्दै धम्की वा दबाबले आफूहरू विचलित नहुने पुनः स्पष्ट पारिन्।
“अत्तालिएको कारणले प्रत्यक्ष–परोक्ष रुपमा आएका धम्कीले हामीलाई प्रभावित पार्दैनन्। सुशासन र पारदर्शिताका काममा सरकारले कुनै पछि हट्नेवाला छैन,” उनले भनिन्।
त्यस्तै, उनले सम्बद्ध निकायका पदाधिकारी तथा राष्ट्रसेवक कर्मचारीहरुलाई पनि व्यावसायिक स्वतन्त्रता र निडरताका साथ काम गर्न आग्रह गरिन्।
प्रधानमन्त्री कार्कीले आगामी दिनमा भ्रष्टाचार नियन्त्रण र जिम्मेवार शासन व्यवस्थाका लागि सरकार अझ सक्रिय रूपमा अघि बढ्ने विश्वास व्यक्त गरिन्।
