धनगढीमा पत्रकारमाथि दुर्व्यवहार : दोषीलाई कारबाही गर्न पत्रकार महासंघको माग


धनगढीमा पत्रकारमाथि दुर्व्यवहार : दोषीलाई कारबाही गर्न पत्रकार महासंघको माग
  • नवकिरण
  • पौष १, २०८२

काठमाडौं, पुस १ – नेपाल पत्रकार महासंघले धनगढीमा समाचार संकलनका क्रममा पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारको कडा विरोध गरेको छ। महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न माग गरेका छन्।

कैलालीको धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवको रिपोर्टिङ गरिरहेको बेला पत्रकार चन्दमाथि अमर्यादित व्यवहार भएको भन्दै महासंघले उक्त घटनाको निन्दा तथा भर्त्सना गरेको छ। विज्ञप्तिमा पत्रकारमाथि गरिएको यस्तो व्यवहार प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको उल्लेख गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायले विशेष कदम चाल्नुपर्ने माग गरिएको छ।

घटना मंसिर २७ गते शनिबार भएको हो। नयाँ सन्देश अनलाइनका सम्पादकसमेत रहेकी पत्रकार चन्दलाई दुई जना अपरिचित युवाले गलत नियतले पछाडिबाट धकेलेको बताइएको छ। उक्त घटना भिडियोमा स्पष्ट देखिएको भन्दै नेपाल पत्रकार महासंघ कैलाली शाखाले समेत आपत्ति जनाएको थियो।

कैलाली शाखाले घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन माग गर्दै यस विषयमा महासंघको केन्द्रीय समितिलाई जानकारी गराइसकेको जनाएको छ। महासंघले पत्रकारको सुरक्षा सुनिश्चित गर्न राज्य गम्भीर हुनुपर्ने आवश्यकता औंल्याएको छ।