जेनजी आन्दोलन छानबिन : बयानअघि लेखक–देउवा छलफल


जेनजी आन्दोलन छानबिन : बयानअघि लेखक–देउवा छलफल
  • नवकिरण
  • पौष ९, २०८२

काठमाडौं, ९ पुस – जेनजी आन्दोलनबारे गठन भएको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग परामर्श गर्ने भएका छन् ।

आयोगमा दिने बयानको तयारीका क्रममा लेखक बुधबार देउवासँग भेट गर्न महाराजगञ्जस्थित उनको निवास पुग्ने तयारीमा छन् । महाराजगञ्ज स्रोतका अनुसार छलफलका लागि लेखकलाई बोलाइएको हो, यद्यपि भेटको निश्चित समय भने सार्वजनिक गरिएको छैन ।

यसअघि लेखकले आयोगले बयानका लागि बोलाएको विषयमा आफू सल्लाह–परामर्श गरिरहेको बताएका थिए । उनले आयोगले पत्र पठाएको भन्ने जानकारी पाए पनि औपचारिक रूपमा आफूले पत्र नपाएको प्रतिक्रिया दिएका छन् ।

‘पत्र पठाएको छ भन्ने सुनेको छु, तर अहिलेसम्म मैले पाएको छैन,’ लेखकले भने, ‘अब के गर्ने भन्ने विषयमा सल्लाह गर्दैछु ।’

विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठन भएको जाँचबुझ आयोगले मंगलबार लेखकलाई बयानका लागि पत्र पठाउने निर्णय गरेको थियो ।