टीकापुर, माघ २४ – कैलालीको लम्कीचुहा नगरपालिका–८ अन्तर्गत पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एक किशोरको मृत्यु भएपछि सडक अवरुद्ध भएको छ।
शनिबार राति करिब ११ः३० बजे गप्का सडक खण्डमा सु.प.प्र. ०१००१ ख २८५० नम्बरको ट्रकले साइकलमा सवार १५ वर्षीय शिरिष भण्डारीलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका भण्डारीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीका सूचना अधिकारी डिएसपी योगेन्द्र तिमिल्सेनाका अनुसार मृतक भण्डारी मलभङ्गा क्षेत्रका बासिन्दा हुन्। दुर्घटनापछि आक्रोशित आफन्त तथा स्थानीयले क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध पारेका छन्।
हाल पीडित पक्ष र ट्रक व्यवसायीबीच छलफल भइरहेको प्रहरीले जनाएको छ। सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन बाटोमै रोकिएका छन् भने लामो दूरीको यातायात प्रभावित भएको छ।
