काठमाडौं, माघ २५ – निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। विद्युतीय सञ्चार माध्यममार्फत निर्वाचन प्रक्रियामा असर पार्ने अभिव्यक्ति दिएको आशंकामा उनलाई शुक्रबार नियन्त्रणमा लिइएको हो।
नेपाल प्रहरीको साइबर ब्युरोले निर्वाचन आयोगबाट प्राप्त निर्देशनका आधारमा प्रसाईंमाथि अनुसन्धान थालेको जनाएको छ। साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले विद्युतीय कारोबार ऐन अन्तर्गत कसुर देखिएकाले अदालतबाट म्याद लिएर अनुसन्धानलाई अगाडि बढाइने जानकारी दिए।
प्रहरीका अनुसार पक्राउ अघि प्रसाईंले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका थिए। उच्च सुरक्षा स्रोतका अनुसार माघ २२ गते भक्तपुरमा उनीहरूबीच भेटवार्ता भएको थियो। त्यसपछि प्रसाईं वीरगञ्जतर्फ जान लागेको र फागुन २१ मा हुने निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यसहित कार्यक्रम गर्न लागेको सूचनाका आधारमा सुरक्षा निकाय सतर्क बनेका थिए।
सुरक्षा निकायले सो गतिविधिबारे अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई ब्रिफिङ गरेपछि प्रसाईंलाई नियन्त्रणमा लिने निर्णय गरिएको एक जना वरिष्ठ प्रहरी अधिकारीले बताए।
एमाले अध्यक्ष ओली झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्। सो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख बालेन्द्र शाह (बालेन) पनि प्रतिस्पर्धामा छन्।
प्रसाईं यसअघि पनि विभिन्न प्रकरणमा पक्राउ परिसकेका व्यक्ति हुन्। माघ ५ गते पोखराबाट पक्राउ परेका उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा बयान लिएपछि हाजिर जमानीमा रिहा गरिएको थियो। सो क्रममा उनले नेपाली कांग्रेसको विशेष महाधिवेशनसँग जोडिएको विषयमा निर्वाचन आयोगमा रकम बुझाइएको दाबी सार्वजनिक गरेका थिए।
यसैगरी, २०८१ मंसिर ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको विदेशस्थित टेलिकम कम्पनीमा लगानी रहेको आरोप लगाएपछि पनि उनी पक्राउ परेका थिए। उक्त घटनामा फर्जी कागजात तयार पारी सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा साइबर अपराध, लिखत किर्ते, आपराधिक लाभ, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान गरिएको थियो।
एक समय ओलीसँग निकट मानिएका प्रसाईं पछिल्लो समय पुनः भेटघाटमा देखिनु र त्यसपछि पक्राउ पर्नुले राजनीतिक वृत्तमा अनेक प्रश्न र चर्चालाई जन्म दिएको छ।
