सातपटक विजेता देउवा यसपटक निर्वाचन प्रक्रियाबाट बाहिर


सातपटक विजेता देउवा यसपटक निर्वाचन प्रक्रियाबाट बाहिर
  • नवकिरण
  • फागुन १३, २०८२

काठमाडौं, फागुन १३ – शेरबहादुर देउवा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा निष्क्रिय रहने देखिएका छन्। पूर्व सभापति देउवाले यसपटक मतदानसमेत नगर्ने सम्भावना रहेको निकट स्रोतले जनाएको छ। विशेष महाधिवेशनपछि पद गुमाएका उनी निर्वाचन प्रक्रियाबाट बाहिरिएका हुन्।

रुख चिह्नबाट अन्तिमपटक चुनाव लड्ने प्रयास गरेका देउवालाई सभापति गगन थापा नेतृत्वले टिकट नदिएपछि उनी चुनावी प्रतिस्पर्धामा देखिएका छैनन्। पार्टीभित्रबाट अभियानमा साथ दिन आग्रह भए पनि उनले कुनै सार्वजनिक अपिल गरेका छैनन्।

२०४८ सालदेखि डडेलधुरा बाट लगातार सात पटक जित्दै आएका देउवा यसपटक उम्मेदवार बन्न नपाएपछि घरमै सीमित छन्। उनको स्थानमा नैनसिंह महर उम्मेदवार बनेका छन् र देउवाको तस्वीर राखेर प्रचार गरिरहेका छन्।

स्वास्थ्य र सुरक्षालाई कारण देखाउँदै देउवा मतदानका लागि पनि डडेलधुरा नजाने सम्भावना रहेको बताइएको छ। निर्वाचनपछि कांग्रेसभित्र कानूनी र राजनीतिक संघर्ष चर्किने आँकलनका बीच देउवासहित संस्थापन पक्ष रणनीतिमा केन्द्रित रहेको स्रोतको दाबी छ।