काठमाडौँ, फागुन ५ – पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधव कुमार नेपाल विरुद्ध दायर भ्रष्टाचार मुद्दा विशेष अदालतमा ‘हेर्न नभ्याउने’ सूचीमा परेको छ।
मंगलबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइका लागि पेसी तोकिए पनि समय अभावका कारण मुद्दा अघि बढ्न सकेन।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले गत जेठ २२ गते पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। आयोगले नेपालमाथि १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, जरिवाना तथा सजायको मागदाबी गरेको छ।
अभियोगपत्रअनुसार तत्कालीन प्रधानमन्त्रीका रूपमा नेपालले मन्त्रिपरिषद्को निर्णयमार्फत हदबन्दीभन्दा बढी जग्गा किनबेच र सट्टापट्टाका लागि स्वीकृति दिएको आरोप छ। २०६६ फागुन ६ गतेको मन्त्रिपरिषद् बैठकबाट पतञ्जलिलाई अतिरिक्त जग्गा कारोबारको अनुमति दिइएको र त्यसअघि २०६६ माघ १८ गते ठाडो आदेशमार्फत प्रक्रिया अगाडि बढाइएको दाबी गरिएको छ।
प्रकरणमा ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना भएको उल्लेख गर्दै आयोगले संलग्न सबै प्रतिवादीमाथि कारबाहीको माग गरेको छ।
