‘प्रतिशोधपूर्ण कदम’ भन्दै एमालेले घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम


‘प्रतिशोधपूर्ण कदम’ भन्दै एमालेले घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम
  • नवकिरण
  • चैत्र १७, २०८२

काठमाडौँ, चैत १७ – नेकपा एमाले ले आफ्ना अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक को पक्राउलाई लिएर आन्दोलनका कार्यक्रम थप विस्तार गर्ने घोषणा गरेको छ। मंगलबार सम्पन्न सचिवालय बैठकले सरकारले ‘राजनीतिक प्रतिशोध’का आधारमा कदम चालेको आरोप लगाउँदै देशव्यापी विरोधलाई निरन्तरता दिने निर्णय गरेको हो।

महासचिव शंकर पोखरेलले आन्दोलनलाई चरणबद्ध रूपमा देशभर फैलाइने जानकारी दिएका छन्। उनका अनुसार तत्काल केन्द्रीय कमिटी बैठक बोलाएर थप रणनीति तय गरिनेछ भने जिल्ला देखि केन्द्रसम्मका संरचनालाई सक्रिय बनाइनेछ।

पार्टीले सार्वजनिक गरेको कार्यक्रमअनुसार चैत २५ गतेसम्म जिल्लास्तरमा बृहत् भेला गरिनेछ। त्यसपछि चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन, वैशाख ३ गते वडा तहमा भेला, वैशाख ७ गते प्रदेश राजधानीमा प्रदर्शन तथा वैशाख १२ गते काठमाडौँमा केन्द्रीय स्तरको विशाल प्रदर्शन गर्ने तालिका तय गरिएको छ।

एमालेले जनसंगठनहरूलाई समेत परिचालन गर्दै आन्दोलनलाई व्यापक बनाउने रणनीति लिएको छ। विद्यार्थी, श्रमिक तथा विभिन्न पेशागत संगठनहरूलाई सक्रिय भूमिका खेल्न निर्देशन दिइएको छ। साथै, जनसंगठन संयन्त्रको बैठक बुधबार बिहान पार्टी कार्यालयमा बस्ने तय गरिएको छ।

यसैबीच, सर्वपक्षीय संवादका लागि पार्टीले उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई जिम्मेवारी दिएको छ। संसदमा प्रभावकारी उपस्थिति जनाउन उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव पद्मा अर्याललाई जिम्मा दिइएको एमालेले जनाएको छ।