ओलीसँग ३५ भन्दा बढी प्रश्न, भने – ‘गोली चलाउने आदेश मेरो होइन’


ओलीसँग ३५ भन्दा बढी प्रश्न, भने – ‘गोली चलाउने आदेश मेरो होइन’
  • नवकिरण
  • चैत्र २०, २०८२

काठमाडौँ, चैत २० -जेनजी आन्दोलन दमन प्रकरणमा अनुसन्धानका लागि नियन्त्रणमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बानेश्वर घटनामा भएको गोली प्रहारबारे आफू निर्दोष रहेको दाबी गरेका छन्। उनले उक्त घटनामा आफ्नो संलग्नता नभएको स्पष्ट पारेका छन्।

प्रहरीले त्रिवि शिक्षण अस्पतालमै पुगेर ओलीसँग बयान लिएको थियो। स्रोतका अनुसार अनुसन्धान अधिकृतहरूले उनीसँग ३५ भन्दा बढी प्रश्न सोधेका थिए।

बयानका क्रममा ओलीले भिड नियन्त्रणका लागि बल प्रयोग गर्ने निर्णय प्रधानमन्त्रीको नभई स्थानीय प्रशासन र जिल्ला सुरक्षा संयन्त्रको हुने बताएका छन्। “गोली चलाउने आदेश मैले दिएको होइन, त्यो सम्बन्धित निकायले परिस्थितिअनुसार लिने निर्णय हो,” उनले भनेका छन्।

उनले भदौ २२ गते सुरक्षा निकायसँग भएको छलफलमा आन्दोलन शान्तिपूर्ण हुने जानकारी पाएको पनि उल्लेख गरेका छन्। सोही आधारमा आफूले शान्ति–सुरक्षा कायम गर्न निर्देशन दिएको उनको भनाइ छ।

ओलीले कुनै पनि हालतमा मानवीय क्षति हुन नदिन जोड दिएको दाबी गर्दै प्रधानमन्त्रीको भूमिकालाई नीतिगत निर्देशनसम्म सीमित रहेको बताए। “कम क्षति होस् भन्ने निर्देशन दिएको हुँ, तर प्रत्यक्ष बल प्रयोगको निर्णय मेरो कार्यक्षेत्रभित्र पर्दैन,” उनले स्पष्ट पारे।

प्रहरीका अनुसार बयान प्रक्रिया सकिएको छ र घटनासम्बन्धी थप अनुसन्धान जारी छ।