सुदूरपश्चिममा कुष्ठरोग नियन्त्रणमा चुनौती, नयाँ बिरामी बढ्दै


सुदूरपश्चिममा कुष्ठरोग नियन्त्रणमा चुनौती, नयाँ बिरामी बढ्दै
  • नवकिरण
  • माघ १४, २०८२

कैलाली, माघ १४ – नेपालले सन् २०१० मा कुष्ठरोग निवारण भएको देशको घोषणा गरेको भए पनि सुदूरपश्चिम प्रदेशका केही जिल्लामा यो रोग अझै समस्या बनेको छ। स्वास्थ्यकर्मीका अनुसार नयाँ पत्ता लाग्ने कुष्ठरोगीमा कैलाली, कञ्चनपुर र अछाम सबैभन्दा बढी प्रभावित छन्।

स्वास्थ्य निर्देशनालय, दिपायलका क्षयकुष्ठ अधिकृत मनोज ओझाले कैलाली जिल्लामा पत्ता लाग्ने रोगीको संख्या बढ्दै गएको जानकारी दिएका छन्। उनका अनुसार, ‘देशभरिका नयाँ कुष्ठरोगीमध्ये करिब ६८ प्रतिशत कैलालीमा देखा परेका छन्।’ रोग पत्ता लाग्ने दर घट्न नसक्दा निवारणमा चुनौती थपिएको उनले बताए।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार प्रतिदश हजार जनसंख्यामा एकभन्दा कम कुष्ठरोगी फेला परेमा रोग निवारण भएको मानिन्छ। नेपाल सरकारले सन् २०३० सम्म कुष्ठरोग शून्यमा झार्ने लक्ष्य लिएको छ। यसका लागि सक्रिय खोजपड्ताल, जनचेतना कार्यक्रम र बहुऔषधि व्यवस्थापनलगायतका गतिविधि जारी छन्।

स्वास्थ्यकर्मीका अनुसार सामाजिक दृष्टिकोणमा रहेका नकारात्मकता रोग नियन्त्रणमा ठूलो चुनौती बनेको छ। कतिपय बिरामी रोग लुकाउँदा पहिचानमा ढिलाइ हुन्छ र संक्रमणको जोखिम बढ्छ। कैलाली स्वास्थ्य कार्यालयका प्रमुख रमेश कुँवरले भने, ‘नियमित औषधि सेवन गरेपछि कुष्ठरोग पूर्ण रूपमा निको हुन्छ र लक्षण अनुसार दुई वर्षभित्र उपचार सम्भव छ।’

सुदूरपश्चिममा कुष्ठरोग बढी देखिनुका कारण जनघनत्व, सरसफाइको कमी, गरिबी, सीमापार आवतजावत र जनचेतनाको कमी मुख्य कारण हुन्। कैलाली र कञ्चनपुरका मुख्य शहर तथा अर्धसहरी क्षेत्र अझै जोखिममा रहेका छन् भने, डोटी, डडेलधुरा, दार्चुला, बैतडी र बझाङमा नयाँ रोगीको संख्या क्रमशः न्यून देखिएको छ।