काठमाडौं, फागुन ३ – आगामी निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले देशभर विशेष मतदाता शिक्षा कार्यक्रम सञ्चालनमा ल्याएको छ। फागुन ३ देखि १७ गतेसम्म चल्ने यस अभियानमार्फत आयोगले मतदातालाई सही र सचेत मतदानका विषयमा जानकारी दिने जनाएको छ।
आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार विगतका निर्वाचनमा देखिएका कमजोरीलाई मध्यनजर गर्दै यसपटक कार्यक्रमलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। पहिले स्थानीय तहका कर्मचारीमार्फत सञ्चालन हुँदै आएको मतदाता शिक्षा कार्यक्रम यसपटक आयोगकै प्रत्यक्ष नेतृत्वमा अघि बढाइएको हो।
यस अभियानअन्तर्गत प्रत्येक वडामा आयोगले एक–एक जना स्वयंसेवक नियुक्त गरी तालिमसहित परिचालन गरेको छ। स्थानीय तहबाट सञ्चालित कार्यक्रममा अपनत्वको कमी देखिएपछि आयोगले आफ्नै संयोजनमा स्वयंसेवक छनोट गरी खटाएको जनाएको छ।
परिचालित स्वयंसेवकहरूले स्थानीय भाषा र परिवेशलाई ध्यानमा राख्दै घरदैलोमै पुगेर मतदातालाई मतदान गर्ने सही प्रक्रिया सिकाउनेछन्। नमूना मतपत्र र स्वस्तिक छाप प्रयोग गरेर मत बदर हुन नदिने तरिकाबारे व्यवहारिक अभ्यास गराइने बताइएको छ।
यसपटक अभियानको मुख्य विशेषता ‘डिजिटल मतदाता शिक्षा’ रहेको आयोगले जनाएको छ। कागजजन्य सामग्रीको प्रयोग घटाउँदै सामाजिक सञ्जाललाई प्राथमिकतामा राखिएको छ। आयोगको आधिकारिक फेसबुक पेजमार्फत उपलब्ध भिडियो, एनिमेसन तथा ब्रोसरहरू प्रयोग गरी मतदातालाई जानकारी दिइनेछ।
अभियानको प्रभावकारिता सुनिश्चित गर्न प्रविधिमार्फत अनुगमनको व्यवस्था गरिएको छ। स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्तिलाई अनुगमनको जिम्मेवारी दिइएको छ भने केन्द्रबाट ह्वाट्सएप समूहमार्फत दैनिक रिपोर्टिङ र समीक्षा भइरहेको आयोगले जनाएको छ। मतदातालाई पनि डिजिटल माध्यमबाटै निर्वाचनसम्बन्धी सूचना लिन आयोगको आधिकारिक सामाजिक सञ्जाल पेज फलो गर्न आग्रह गरिएको छ।
