भारतमा कोरोना संक्रमण पुनः बढ्दै, १२ जनाको मृत्यु, ४ नयाँ भेरियन्ट पुष्टि


भारतमा कोरोना संक्रमण पुनः बढ्दै, १२ जनाको मृत्यु, ४ नयाँ भेरियन्ट पुष्टि
  • नवकिरण
  • जेष्ठ १४, २०८२

काठमाडौं, जेठ १४ – छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमण फेरि फैलिन थालेको छ। पछिल्लो तथ्यांकअनुसार मंगलबार मात्रै १,०८१ नयाँ संक्रमित भेटिएका छन् भने १२ जनाको ज्यान गइसकेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १,०८१ पुगेको छ। कर्नाटकमा ३६, गुजरातमा १७, बिहारमा ६ र हरियाणामा ३ जना नयाँ संक्रमित भेटिएका छन्। सबैभन्दा बढी ४३० सक्रिय संक्रमित केरल राज्यमा रहेका छन्।

उत्तर प्रदेशको फिरोजाबादमा ७८ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको छ। यो उत्तर प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्टबाट भएको पहिलो मृत्यु भएको बताइएको छ। अन्य मृत्यु महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र मध्य प्रदेशमा भएका हुन्।

चार नयाँ भेरियन्टको पुष्टि

भारतीय चिकित्सा अनुसन्धान परिषद् (ICMR) का निर्देशक डा. राजीव बहलका अनुसार हाल भारतमा LF.7, XFG, JN.1, र NB.1.8.1 गरी चार नयाँ भेरियन्ट देखिएका छन्। यी भेरियन्टहरूमध्ये केही दक्षिण र पश्चिम भारतका नमुनाबाट जीन अनुक्रमणमार्फत पत्ता लागेका हुन्।

डा. बहलका अनुसार अहिलेको अवस्था गम्भीर नभए पनि सतर्कता आवश्यक छ। विश्व स्वास्थ्य संगठन (WHO) ले यी भेरियन्टलाई ‘चिन्ताजनक’ होइन, ‘निगरानी योग्य’ श्रेणीमा राखेको छ।

JN.1 प्रमुख भेरियन्ट

हाल भारतमा सबैभन्दा धेरै देखिएको भेरियन्ट JN.1 हो। परीक्षण गरिएका आधा भन्दा बढी नमुनामा यही भेरियन्ट भेटिएको छ। यसपछि BA.2 भेरियन्ट २६ प्रतिशत र अन्य ओमिक्रोन उपप्रकारहरू २० प्रतिशत दरले देखा परेका छन्।

JN.1, ओमिक्रोनको BA.2.86 भेरियन्टको स्ट्रेन हो, जुन सन् २०२३ को अगस्टमा पहिलोपटक देखिएको थियो। डिसेम्बर २०२३ मा यसलाई WHO ले ‘Variant of Interest’ घोषणा गरेको थियो। यसमा करिब ३० वटा म्युटेसन छन् जसले शरीरको प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउने वैज्ञानिकहरू बताउँछन्।

लक्षण र असर

JN.1 भेरियन्ट अन्य भेरियन्टहरूभन्दा छिटो फैलिने भए पनि प्रायः गम्भीर हुँदैन। तर लक्षणहरू केही दिनदेखि हप्तासम्म देखिन सक्ने विज्ञहरू बताउँछन्। लक्षण लामो समयसम्म रहने अवस्थामा ‘लङ्ग कोभिड’ को जोखिमसमेत देखिएको छ।

त्यस्तै NB.1.8.1 भेरियन्टमा भएका विभिन्न स्पाइक प्रोटिन म्युटेसनहरूले यसलाई छिटो फैलन र अघिल्लो संक्रमण वा खोपबाट बनेको प्रतिरक्षा प्रणालीलाई छल्न मद्दत गर्छ।

विशेषज्ञहरूका अनुसार संक्रमणबाट बच्न सावधानी अपनाउनु जरुरी छ। मास्क प्रयोग, हात धुने, भीडभाडबाट टाढा रहने र आवश्यक परे परीक्षण गराउने सुझाव दिइएको छ।