कोलकाता, असार १४ – पश्चिम बंगालको राजधानी कोलकातास्थित एक ल कलेजमा छात्रालाई विद्यार्थी संघको अध्यक्ष बनाइदिने प्रलोभन देखाई बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। घटनामा संलग्नमध्ये एक जना कलेजका पूर्व विद्यार्थीसमेत रहेका छन्।
घटना जुन २५ तारिख साँझ ७:३० बजेदेखि १०:५० बजेसम्म दक्षिण कोलकाताको उक्त कलेज परिसरमा भएको हो। पीडित छात्राले नगर प्रहरी चौकीमा लिखित उजुरी दिएपछि अनुसन्धान अघि बढाइएको थियो। स्वास्थ्य परीक्षणपछि प्रहरीले प्रारम्भिक प्रमाण संकलन गर्दै एफआईआर दर्ता गरेको थियो।
प्रहरीका अनुसार घटनामा संलग्न प्रमित मुखर्जी, जे. अहमद र मनोजित मिश्रालाई क्रमशः बुधबार साँझ र राति पक्राउ गरिएको हो। मनोजित मिश्रालाई मुख्य अभियुक्तको रूपमा पहिचान गरिएको छ। उनी कलेजको पूर्व छात्र हुन् र फेसबुक प्रोफाइल अनुसार दक्षिण कोलकाता तृणमूल कांग्रेस विद्यार्थी परिषद (टीएमसीपी) का संगठन सचिव रहेका छन्।
यस घटनाले राज्यको राजनीतिमा हलचल ल्याएको छ। विपक्षी दलहरूले मुख्यमन्त्री ममता बनर्जीको राजीनामाको माग गर्दै सरकारको आलोचना गरेका छन्। टीएमसीपीले भने आरोपी मनोजित मिश्रालाई संगठनमा सक्रिय नरहेको बताउँदै संलग्नता अस्वीकार गरेको छ।
छात्राको भनाइ अनुसार, मनोजितले आफूलाई टीएमसीपीको कलेज युनियन अध्यक्ष बनाउने भन्दै कलेज बोलाएपछि, उनी दिउँसो कलेज पुगेकी थिइन्। त्यहाँ उनले शारीरिक सम्बन्धको प्रस्ताव अस्वीकार गरेपछि, मनोजित र उनका दुई सहयोगीले जबरजस्ती गार्ड कोठामा तानेर बलात्कार गरेका थिए।
फोरेन्सिक टोलीले घटनास्थलको निरीक्षण गरिसकेको छ। अभियुक्तहरूबाट प्रहरीले मोबाइल फोनहरू जफत गरी अनुसन्धान तीव्र बनाएको छ।
राष्ट्रिय महिला आयोगले घटनाको गम्भीरता औँल्याउँदै कोलकाता प्रहरी आयुक्तबाट तीन दिनभित्र विस्तृत प्रतिवेदन मागेको छ। आयोगकी अध्यक्ष विजया रहाटकरले पीडितलाई पूर्ण सहयोग गर्न निर्देशन दिएकी छिन्।
यस घटनाले २०२४ मा आरजी कर मेडिकल कलेजमा भएको बलात्कार तथा हत्याको घटनाको सम्झना दिलाएको छ। त्यतिबेला पनि शैक्षिक संस्थाहरूमा सुरक्षाको सवालमा ठूलो बहस चलेको थियो।
यो मुद्दा अहिले सामाजिक सञ्जालमा पनि व्यापक रूपमा फैलिएको छ, जहाँ मनोजित मिश्रासहित थुप्रै टीएमसीपी नेताहरूसँग खिचिएका तस्बिरहरू भाइरल भइरहेका छन्। घटनाको राजनीतिक प्रभाव अझ चर्किने अनुमान गरिएको छ।