काठमाडौं, भदौ ४ – भारत र चीनबीच लिपुलेक हुँदै सीमा व्यापार पुनः सुरु गर्ने सहमति भएको छ। नयाँ दिल्लीमा मंगलबार भएको उच्चस्तरीय भेटवार्तामा चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री एस. जयशंकरले यसबारे सहमति जनाएका हुन्।
दुई दिने भारत भ्रमणका क्रममा वाङ यी र जयशंकरबीच विभिन्न विषयमा छलफल भएको थियो। त्यसपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा १२ बुँदे सहमति सार्वजनिक गरिएको हो। सो सहमतिको ९औँ बुँदामा लिपुलेक, शिप्कीला र नाथु ला पासमार्फत व्यापार पुनः सञ्चालन गर्ने निर्णय समावेश गरिएको छ।
गलवान उपत्यकामा भएको द्वन्द्वपछि भारत–चीनबीच सम्बन्धमा चिसोपन आएको थियो। त्यस घटनापछि दोस्रो पटक भएको उच्चस्तरीय छलफललाई दुवै मुलुकबीच सम्बन्ध सहज बनाउन गरिएको प्रयासका रूपमा हेरिएको छ।
यसअघि पनि सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा लिपुलेक हुँदै व्यापार गर्ने सहमति भएको थियो। तर, नेपाललाई जानकारी नदिई गरिएको उक्त निर्णयको काठमाडौंमा चर्को विरोध भएको थियो।
यस पटकको सहमतिबारे नेपालले आधिकारिक प्रतिक्रिया नदिएको भए पनि पुनः लिपुलेकमार्ग समावेश भएको विषयलाई लिएर विवाद पुनः चुलिने संकेत देखिएको छ।