काठमाडौं, असोज २४ – गाजापट्टी र इजरायलबीच लामो समयदेखिको युद्ध अन्त्य हुने संकेत देखिएको छ। इजरायली मन्त्रिपरिषद्ले हमाससँग भएको युद्धविराम सम्झौतामा स्वीकृति प्रदान गरेपछि दुवै पक्षमा राहत र उत्साहको वातावरण बनेको छ।
सम्झौताअनुसार इजरायली बन्धक र प्यालेस्टिनी कैदीहरूको आपसी आदानप्रदान हुनेछ। यो प्रक्रिया अमेरिकाद्वारा प्रस्तुत २० बुँदे शान्ति योजनाको पहिलो चरणअन्तर्गत अघि बढ्ने बताइएको छ।
सम्झौता लागू भएपछि हमासले आगामी सोमबारदेखि इजरायली बन्दीहरूलाई क्रमशः रिहा गर्न सुरु गर्नेछ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका अनुसार सबै बन्धकहरू अर्को हप्ता सोमबार वा मंगलबारसम्ममा मुक्त गरिने अपेक्षा गरिएको छ।
युद्धविरामको खबर फैलिएसँगै गाजाका बासिन्दाहरूले सडकमा नाचगान र आतसबाजी गरेर खुशी प्रकट गरेका छन्। यसबीच, प्यालेस्टिनी प्राधिकरणले युद्धविरामपछि गाजाको प्रशासनिक जिम्मेवारी लिन तयारी थालिएको जनाएको छ, अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।
