दुबई, असोज १ – संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाली नागरिकलाई लक्षित गर्दै कामदार (वर्किङ) तथा भिजिट भिसा बन्द गरेको छ। सोमबारदेखि लागू भएको यो निर्णयका कारण यूएई जान चाहने नेपालीलाई ठूलो असर परेको छ।
यूएई सरकारले नेपालमा हालै देखिएको ‘जेन–जी आन्दोलन’का क्रममा भएको तोडफोड, आगजनी र कैदी भाग्ने जस्ता घटनालाई ध्यानमा राख्दै यस्तो कदम चालेको बताइएको छ। पछिल्लो समय नेपाली सर्वाधिक संख्यामा भिजिट भिसा लिएर यूएई प्रवेश गर्ने गरेका थिए।
दुबईका विभिन्न कम्पनीहरूले नयाँ भिसा टाइपिङका लागि आवेदन दिन खोज्दा प्रणालीले अनुमति नदिएको र पहिले नै प्रोसेस भइसकेका भिसा समेत रद्द हुन थालेको बताएका छन्। सुरक्षा कम्पनी, वेयरहाउस कम्पनीदेखि क्लिनिङ कम्पनीसम्मले नेपाली कामदारका लागि गरिएको आवेदन अस्वीकृत भएको जानकारी दिएका छन्।
यससँगै यूएई इमिग्रेसनले नेपालबाट आउने नयाँ भिसा हाललाई रोकिएको छ।
यस्तै, गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने प्रक्रिया पनि बन्द भएको छ। वैदेशिक रोजगार विभागले मंगलबार सूचना जारी गर्दै कार्यविधि–२०८० कार्यान्वयन नगर्ने निर्णय भएको जनाएको हो। मन्त्रालयको निर्देशनपछि ई–७ भिसामार्फत कोरिया जाने बाटो बन्द भएको हो।
हाल भने रोजगारीका लागि कोरिया जान रोजगार अनुमति प्रणाली (ईपीएस) कायम छ।