काठमाडौं, चैत ८ – लिपुलेक भञ्ज्याङ हुँदै भारत र चीनबीच सीमा व्यापार पुनः सुरु हुने भएको छ। करिब ६ वर्षपछि व्यापार पुनः सञ्चालनको तयारी अघि बढाइएको हो।
भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार उत्तराखण्ड प्रशासनले व्यापार सञ्चालनका लागि आवश्यक तयारी सुरु गरिसकेको छ। सामान्यतया यो व्यापार जुनदेखि सेप्टेम्बरसम्म चल्ने गर्छ।
भारतीय केन्द्र सरकारको निर्देशनपछि स्थानीय तहमा पूर्वाधार र व्यवस्थापन मिलाउने काम भइरहेको जनाइएको छ। सम्बन्धित निकायहरू सक्रिय रूपमा तयारीमा जुटेका छन्।
लिपुलेक क्षेत्र हाल भारतको नियन्त्रणमा भए पनि नेपालले यसलाई आफ्नो भूभागका रूपमा दाबी गर्दै आएको छ। यसअघि पनि भारत–चीनबीच भएका सहमतिमा नेपालले आपत्ति जनाएको थियो।
भारतको विदेश मन्त्रालयले ‘नो अब्जेक्सन सर्टिफिकेट’ जारी गरेपछि व्यापार पुनः सुरु गर्ने प्रक्रिया अगाडि बढेको हो। यसले क्षेत्रीय व्यापारमा सक्रियता बढाउने अपेक्षा गरिएको छ।
