सहमतिपछि पनि उपत्यकामा सार्वजनिक यातायात सञ्चालन भएन


सहमतिपछि पनि उपत्यकामा सार्वजनिक यातायात सञ्चालन भएन
  • नवकिरण
  • जेष्ठ २०, २०८२

काठमाडौं, जेठ २० – सरकारसँग सहमति भए पनि काठमाडौं उपत्यकामा आज (मंगलबार) पनि सार्वजनिक यातायात सञ्चालनमा आउन सकेको छैन।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ लगायतका व्यवसायीहरूले सहमतिको कार्यान्वयन सुनिश्चित नभएको भन्दै गाडी सञ्चालन नगर्ने अडान दोहोर्‍याएका छन्।

महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले अघिल्लो वर्ष गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीसँगको विश्वासमा आधारित प्रतिबद्धता पूरा नभएकै कारण अहिले पुनः आन्दोलनमा जानु परेको बताएका छन्।

उनले संघीय सरकारप्रति अविश्वास नरहे पनि गण्डकी प्रदेश सरकारबाट स्पष्ट प्रतिबद्धता नआएसम्म गाडी नचलाउने बताएका छन्।

गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटका सवारी साधनले यात्रु बोक्न पाउने गरी ल्याएको राइडसेयरिङ सम्बन्धी नियमावलीको विरोधमा व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन्।

प्रधानमन्त्री कार्यालयले उक्त नियमावली स्थगनका लागि गण्डकी प्रदेश सरकारलाई पत्राचार गर्न तयार भएपछि व्यवसायीहरूले चक्काजाम फिर्ता लिने सहमति जनाएका थिए।

वार्ताका क्रममा कार्यदलले सहमतिका बुँदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत प्रधानमन्त्री कार्यालय र त्यसपछि गण्डकी प्रदेश सरकारलाई पत्राचार गरिने सहमति भएको थियो। त्यसपछि मात्रै नियमावली स्थगन हुने आश्वासन दिइएको हो।

यद्यपि सहमति भए पनि आज उपत्यका लगायतका जिल्लाहरूमा सार्वजनिक सवारी साधन कम मात्रामा सञ्चालनमा आएका छन्। त्यसका कारण यात्रुहरू विशेषगरी बालबालिका, वृद्धवृद्धा र बिरामीहरू कठिनाइमा परेका छन्।

गण्डकी प्रदेश सरकारको राइड सेयरिङ सेवासम्बन्धी नियमावलीको विरोधमा व्यवसायीहरू पाँच दिनदेखि आन्दोलनरत छन्। गत शुक्रबारदेखि गण्डकी प्रदेशभर र जेठ १९ गतेदेखि देशभर चक्काजाम गरिएको हो।