वैदेशिक रोजगारीका लागि साउनमा ६८ हजारले पाए श्रम स्वीकृति


वैदेशिक रोजगारीका लागि साउनमा ६८ हजारले पाए श्रम स्वीकृति
  • नवकिरण
  • भाद्र ४, २०८२

काठमाडौं, भदौ ४ – चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ६८ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्राप्त गरेका छन्।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार कुल ६८ हजार ११० जनाले श्रम स्वीकृति लिएका छन्, जसमा ५८ हजार ९४८ पुरुष र ९ हजार १६२ महिला रहेका छन्।

व्यक्तिगत तवरबाट ११ हजार ७७२ जनाले श्रम स्वीकृति लिएका छन् भने मेनपावरमार्फत ३१ हजार ८३० जनाले अनुमति पाएका छन्। यस्तै पुनः श्रम स्वीकृतिमा २३ हजार ६४४ र जी-टु-जी प्रक्रियामार्फत ८६४ जनाले स्वीकृति पाएका छन्।

गत वर्षको साउन महिनासँग तुलना गर्दा यस वर्ष श्रम स्वीकृति लिनेको संख्या उल्लेख्य रूपमा बढेको विभागले जनाएको छ। गत वर्षको सोही अवधिमा ५९ हजार ५७५ जनाले मात्र स्वीकृति पाएका थिए।

यसैबीच वैदेशिक रोजगारी सम्बन्धी ठगीका ५८० उजुरी विभागमा परेको छ। तीमध्ये ७४ वटा मिलापत्रमार्फत समाधान भएका छन् भने २६ उजुरी अदालतसम्म पुगेका छन्।

नेपालमै काम गर्न चालु आर्थिक वर्षको पहिलो महिनामा ९८ जना विदेशीले श्रम स्वीकृति पाएका छन्। साथै ९४ जनाले आफ्ना स्वीकृति नवीकरण गराएका छन्।

वैदेशिक रोजगारीमा जाँदा ज्यान गुमाउने घटनासमेत बढिरहेका छन्। गत आर्थिक वर्षमै विदेशमा मृत्यु भएका ४८१ जनाको शव नेपाल झिकाइएकोमा यस वर्षको साउन महिनामात्रै ३९ जनाको शव नेपाल ल्याइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ।