कञ्चनपुरमा छाउगोठमा सुतिरहेकी महिलालाई सर्पले डसेर मृत्यु


कञ्चनपुरमा छाउगोठमा सुतिरहेकी महिलालाई सर्पले डसेर मृत्यु
  • नवकिरण
  • अषाढ २९, २०८२

कञ्चनपुर, असार २९ – कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुतिरहेकी २८ वर्षीया कमला आउजीको सर्पदंशका कारण मृत्यु भएको छ।

शनिबार राति सुतिरहेको अवस्थामा बाँया गालामा सर्पले डसेपछि गम्भीर घाइते भएकी कमलालाई तत्कालै सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो। तर, उपचारको क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी सागर बोहराले जानकारी दिए।

नगरप्रमुख हेमराज ओझाका अनुसार घटनास्थल छाउगोठ नै रहेको पुष्टि भएको छ। यद्यपि, प्रहरी पक्षले छाउगोठमै सुतिरहेको अवस्थामा सर्पले डसेको भन्ने तथ्यको पुष्टि भइनसकेको जनाएको छ।

कृष्णपुर नगरपालिकाले केही समयदेखि छाउगोठ भत्काउने तथा छाउपडी प्रथाको अन्त्यका लागि अभियान चलाउँदै आए पनि पुरानो कुप्रथाले अझै पनि जरा गाडिरहेको स्थानीयको गुनासो छ।

छाउपडी प्रथाले महिलाको ज्यान लिइरहँदा सम्बन्धित निकायहरूको पहल कागजमै सीमित देखिएको छ। स्थानीयहरूका अनुसार कहिले सर्प, कहिले बलात्कारी अनि कहिले सामाजिक बहिष्कार—छाउगोठ पीडाको पर्याय बन्न पुगेको छ।