भट्टराईको दाबी : “एमाले र कांग्रेस अझै नौजवान”


भट्टराईको दाबी : “एमाले र कांग्रेस अझै नौजवान”
  • नवकिरण
  • अषाढ २८, २०८२

भक्तपुर, असार २८ – नेकपा एमालेका सचिव योगेश भट्टराईले पुराना राजनीतिक दलहरू समाप्त हुने र नयाँ दलहरूले स्थान लिने भन्ने धारणा भ्रामक रहेको बताएका छन्। शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले एमाले र कांग्रेस जस्ता दलहरू अझै पनि नौजवान रहेको दाबी गरे।

भट्टराईले राजनीतिक दलहरू कहिल्यै पाको नहुने भन्दै समय अनुसार रूपान्तरण भएर अगाडि बढ्ने विशेषता पुराना दलहरूमा रहेको बताए। “राजनीतिक दलहरू मानिसजस्तो पाको भएर मर्ने होइनन्,” उनले भने, “७० वर्षअघि स्थापना भए पनि एमाले अझै नौजवान छ।”

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता नयाँ दलहरू पुराना दलहरू सिद्धिने कुरामा आश गरेर बस्नु अवास्तविक भएको टिप्पणी गरे। “रास्वपाका नेताहरू पुराना दलहरू मर्छन् भन्ने कुरामा ढुक्क भएर बस्नुभएको छ, तर त्यो सम्भव छैन,” उनले भने।

भट्टराईका अनुसार राजनीतिक दलले आफूलाई सिद्धान्त अनुसार रूपान्तरण गर्ने क्षमता राख्नुपर्छ, केवल नयाँ भनेर दाबी गर्नु मात्र पर्याप्त हुँदैन। “पुराना दलहरूले जे गरेका छन्, त्यसको आलोचना गर्नु अघि नयाँ दलहरूले आफू के गर्न सक्छन् भन्ने देखाउनु पर्छ,” उनले जोड दिए।

उनको भनाइ अनुसार एमालेले देशका हरेक संकटका बेला आफूलाई सिद्धान्ततः सुधारेर अगाडि बढेको छ र यही कारणले पार्टी आजसम्म जीवित र सशक्त रहेको छ।

भट्टराईको यस्तो टिप्पणीले नेपाली राजनीतिक वृत्तमा नयाँ र पुराना दलबीचको बहसलाई थप चर्काउने देखिएको छ।