विदेश गएका दुई वडाध्यक्ष लामो समयदेखि सम्पर्कविहीन


विदेश गएका दुई वडाध्यक्ष लामो समयदेखि सम्पर्कविहीन
  • नवकिरण
  • श्रावण १, २०८२

गोरखा, साउन १ — गोरखा जिल्लाको सिरानचोक गाउँपालिका–५ का वडाध्यक्ष ठानेश्वर पोखरेल र धार्चे गाउँपालिका–६ का वडाध्यक्ष धनकुमार घले करिब एक वर्षदेखि कार्यलयमा अनुपस्थित छन्। उनीहरू विदेश गएका भए पनि अहिलेसम्म फर्किएका छैनन्, जसका कारण स्थानीय सरकार सञ्चालनमा समस्या देखिएको छ।

सिरानचोक–५ का वडाध्यक्ष पोखरेल गत असारमा बर्खे अधिवेशन सकिएपछि अमेरिका गएका थिए। केही समयका लागि उनले वडा सदस्य रामचन्द्र पोखरेललाई कार्यवाहकको जिम्मेवारी दिएका थिए। माघ महिनामा फर्किएर केही समय काम गरे पनि फेरि असारसम्म कार्यभार सुम्पिएर अमेरिका फर्किएको बताइएको छ। गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङका अनुसार गत फागुनदेखि वडाध्यक्ष पोखरेल सम्पर्कविहीन छन् र सेवा सुविधा पनि रोकिएको छ।

यस्तै, धार्चे–६ का वडाध्यक्ष घले गत भदौ १२ गते कार्यवाहक तोकेर बेलायत गएका थिए। पालिकाले पटक–पटक पत्राचार गरेर पनि उनीसँग कुनै औपचारिक जवाफ प्राप्त भएको छैन। अध्यक्ष लक्ष्मण गुरुङका अनुसार म्यासेन्जरमार्फत सम्पर्क हुँदा ‘अब फर्किन्न’ भनेका छन् तर लेखेर जानकारी दिन भनेकोमा अझै पनि नपठाएको बताए।

स्थानीयवासीले दुवै वडाध्यक्षको लामो अनुपस्थितिका कारण सेवामा बाधा भएको भन्दै पद खारेजीको माग गर्दै गाउँपालिका कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएका छन्। तर पालिकाले उनीहरूको पद खारेज गर्ने अधिकार आफूहरूसँग नभएको स्पष्ट पारेको छ।

हाल दुवै वडाध्यक्षको सेवा सुविधा रोक्का गरिएको छ भने स्थानीय जनताले शीघ्र निर्णय लिन दबाब दिइरहेका छन्।