मुम्बईबाट भागेर आएका दिदीबहिनी भक्तपुरमा झुन्डिएको अवस्थामा मृत फेला


मुम्बईबाट भागेर आएका दिदीबहिनी भक्तपुरमा झुन्डिएको अवस्थामा मृत फेला
  • नवकिरण
  • श्रावण ८, २०८२

भक्तपुर, साउन ८ – भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ स्थित सिन्टीटारमा दुई किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

भुइँतलामा डेरा गरी बस्दै आएका ती किशोरीहरू बिहीबार बिहान प्यासेजमा एउटै डोरीमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। मृतकहरू सुर्खेतको पञ्चपुरी नगरपालिका–८ घर भएका १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल हुन्।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ढुण्डिराज न्यौपानेका अनुसार ती किशोरीहरू दुई साता अघिमात्र भारतको मुम्बईबाट भागेर काठमाडौं आएका थिए। त्यसपछि उनीहरू भक्तपुरको स्थानीय निरज चक्रधरको घरमा डेरा लिएर बस्दै आएका थिए।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। हाल घटनाको प्रकृति र कारण खुलाउन अनुसन्धान भइरहेको छ। मृतक दिदीबहिनीका बाबु काठमाडौं आउँदै गर्दा भएको घटनाको पोस्टमार्टम तथा थप प्रक्रिया उनी आइसकेपछि मात्रै अघि बढाइने प्रहरी स्रोतले जानकारी दिएको छ।

घरधनीका अनुसार ती दिदीबहिनी करिब १५ दिनअघि मात्र डेरामा बसेका थिए। उनीहरूकै कोठाभित्र नभई घरको साझा प्यासेजमै झुन्डिएको अवस्थामा फेला परेको हुँदा घटना थप शंकास्पद देखिएको छ।

प्रहरीले यस घटनालाई प्राथमिकता दिँदै आत्महत्या वा अन्य कुनै कारण भएको हो भनेर पुष्टि गर्न थप अनुसन्धान अघि बढाएको जनाएको छ।