गोरखामा बस दुर्घटना : २१ जना घाइते, दुईलाई काठमाडौँ रिफर


गोरखामा बस दुर्घटना : २१ जना घाइते, दुईलाई काठमाडौँ रिफर
  • नवकिरण
  • भाद्र १७, २०८२

गोरखा, भदौ १७ – गोरखामा मंगलबार बिहान भएको बस दुर्घटनामा २१ जना घाइते भएका छन्।

काठमाडौँबाट माछीखोला जाँदै गरेको बाग्मती प्रदेश ०१–००६ ख ४१३१ नम्बरको रात्रिबस भिमसेनथापा गाउँपालिका–३, टारीफाँट गगटे नजिक सडकबाट दुर्घटनाग्रस्त भएको हो। बिहान करिब ५ बजे तीव्र गतिमा गइरहेको बस अनियन्त्रित भई सडक किनारमा खस्दा यात्रुहरू घाइते भएका थिए।

सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाका अनुसार दुर्घटनामा घाइते भएका २१ जनामध्ये १९ जनाको प्राथमिक उपचार आरुघाटमा भइरहेको छ भने गम्भीर दुई जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ।

दुर्घटनापछि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस आरुघाटबाट निरीक्षकको कमाण्डमा खटिएको टोली र नेपाल प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि लगेको जनाइएको छ।