काठमाडौं, भदौ २३ – सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध राजधानीमा पुनः जेनजी युवाहरू सडकमा उत्रिएका छन् । माइतीघर मण्डलामा भेला भएका उनीहरूको भीड क्रमशः बढ्दै गएको छ ।
राष्ट्रिय झण्डा बोकेका युवाहरूले सडकभरि राष्ट्रभक्ति गीत गाएका छन् भने, हातमा विभिन्न नारा अंकित प्लेकार्ड देखिएका छन् । ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, ‘स्टप करप्सन’ जस्ता नारा अंकित प्लेकार्डले प्रदर्शनस्थल भरिएको छ ।
युवाहरूले प्रदर्शनलाई शान्तिपूर्ण ढंगले अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन् । उनीहरूले सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने, तोडफोड गर्ने वा आगजनी गर्ने कार्य नगर्ने स्पष्ट गरेका छन् । साथै, राजनीतिक दलका कार्यकर्ताहरूलाई आन्दोलनमा सहभागी नगराउने अडानसमेत लिएका छन् ।
प्रदर्शन सामाजिक सञ्जालमार्फत् आह्वान गरिएको थियो । सुरक्षाकर्मीहरूलाई भने कुनै अप्रिय घटना हुन नदिने उद्देश्यले व्यापक रूपमा परिचालन गरिएको छ ।
काठमाडौं मात्र नभई रुपन्देही, दाङ लगायतका जिल्लामा पनि जेनजी युवाहरूले यस्तै विरोध प्रदर्शन गरेका छन् । उनीहरूको भनाइमा, सामाजिक सञ्जाल बन्द गर्नु नागरिकको स्वतन्त्र आवाजमाथि प्रहार भएको छ र भ्रष्टाचार तथा अव्यवस्था विरुद्धको संघर्ष निरन्तर गरिनेछ ।