काठमाडौं, भदौ २९ – जेनजी आन्दोलनको क्रममा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ। मुख्य सचिव एकनारायण अर्यालका अनुसार मृतकमध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी रहेका छन्।
आन्दोलनमा घाइते भएकामध्ये १३३ जना प्रदर्शनकारी र ५७ जना सुरक्षाकर्मीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
प्रधानमन्त्री सुशिला कार्कीले सबै घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गर्दै आन्दोलनमा ज्यान गुमाउनेलाई शहीद घोषणा गरिएको बताइएको छ। साथै, प्रत्येक मृतकका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ।
आन्दोलनका क्रममा देशभरका विभिन्न जिल्ला कार्यालय र निजी भवनमा तोडफोड भएको सरकारी स्रोतले जनाएको छ।